Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

देशमा मुठभेडको संकेत !


दलहरुभित्र आन्तरिक संरचना सुधार गर्न दबाब

काठमाडौं । भदौं २३ र २४ को जेन जी युवाहरुको प्रदर्शनले नेपालको राजनीतिलाई हल्लाइदिएको छ । पुराना दलहरु भित्र पार्टी पुर्नगठनको दबाब बढ्दो छ ।

माओवादी केन्द्रले असोज ९ र १० गते काठमाडौंको प्रज्ञा भवनमा पार्टीको केन्द्रीय समितिको वैठक राखेर जेन जी विद्रोहको समीक्षा गर्दै उनीहरुको भावना र एजेण्डालाई आत्मसात गर्ने निर्णय गरेको छ । त्यसैको प्रक्रियाको लागि मंसिरमा विशेष महाधिवेशनको आयोजना गर्दै पार्टी केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

विघटित संसदको दोस्रो ठूलो दल एमालेले पार्टी सचिवालयको बैठक भक्तपुरको गुण्डुमा भर्खरै सम्पन्न गरेको छ । वैठकमा सचिवालयका बहुमत सदस्यले अध्यक्षले २३ र २४ गतेको घटनाको जिम्मेवारी लिन पर्ने भन्दै आत्म समीक्षा गर्न दबाब दिए पनि तत्कालिन प्रधानमन्त्री रहेका एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली त्यसको जिम्मेवारी लिन तयार देखिएनन् । बरु एमालेको सचिवालय बैठकले अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा भाग नलिने र संसद पुनस्थापनाको मुद्दा लिएर देशैभरि आन्दोलन गर्ने निर्णय गरेको छ । यसले देशलाई स्पष्ट मुडभेडमा लैजान खोजेको देखिन्छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असोज २४ गते भक्तपुरको गुण्डुबाट जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिदै सरकार बिरुद्ध खनिएका छन् ।

उनको भाषण लगत्तै सरकारले पूर्वप्रधानमन्त्री ओलीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत सुरक्षाकर्मी फिर्ता बोलाउने गृहमन्त्रीले निर्णय गरेका छन् ।

एमाले अध्यक्ष ओलीले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगलाई नमान्ने बताउँदै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार नेपालीको नरहेको आरोप लगाए ।

सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी थालेपछि एमालेका अध्यक्ष समेत रहेका ओलीले कडा प्रतिकृया जनाएका हुन् । ओली र लेखकलाई पक्राउ गर्न जेन– जीको नाममा प्रहरीमा उजुरी परे लगत्तै एमाले झन् उग्र बनिरहेको छ ।

जेन जी विद्यार्थीहरुको छातिमा गोली लागेर बानेश्वरको सडकमा ठाउँका ठाउँ मृत्यु हुँदा चुप रहेको एमालेको विद्यार्थी संगठन ओलीविरुद्ध शहीद र घाइते परिवारहरुले प्रहरीमा जाहेरी दिंदा काउन्टर आक्रमणमा उत्रिएको छ ।

जाहेरीमा सिंहदरबार, सर्वाेच्च अदालत र संसद् भवनमा भएको आगजनी, निजी सम्पत्ति तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमणमा उनीहरूलाई संलग्न ठहर गरिएको छ ।

एमालेका नेता महेश बस्नेत पार्टी अध्यक्ष केपी शर्मा ओली तथा आफूलाई पक्राउ गरेर देखाउन सुरक्षा संयन्त्र तथा सरकारलाई खुल्ला चुनौति दिइरहेका छन् ।

जेनजीका प्रतिनिधि भनिने सुदन गुरुङहरुले ओलीलाई पक्रन प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब दिंदा बालुवाटारमा प्रधानमन्त्री, गृह तथा सुरक्षा निकायका प्रमुखहरूबीच लामो बैठक भएको थियो । बैठकमा मुलुकी अपराध संहिता २०७४ को दफा २६ का

आधारमा जाहेरी दर्ता गरी पक्राउ पुर्जी जारी गर्न सकिने सम्भावनाबारे छलफल भए पनि, प्रहरी प्रशासनले हालै गठन भएको जाँचबुझ आयोगले प्रतिवेदन दिएपछि मात्र कारबाही गर्न उचित हुने धारणा राखेको समाचार सार्वजनिक भएको छ ।

जेनजी आन्दोलनमा सक्रिय युवाहरूले सामाजिक सञ्जालमार्फत ओली र लेखकविरुद्ध कठोर कदम चाल्न माग गर्दै दवाव सिर्जना गर्दै आएका थिए । उनीहरूका प्रतिनिधि सुदन गुरुङले त मन्त्रीहरूलाई समेत धम्क्याएको बताइन्छ ।
प्रहरीले एमालेको उक्त जाहेरीलाई पनि आयोगमा पठाएर आफ्नो तटस्थता देखाएको छ । यसबाट सत्ता र विपक्षी दुवै पक्षले एकअर्कामाथि कानुनी दबाब सिर्जना गर्न खोजिरहेको प्रष्ट देखिएको छ ।

यसैबीच, जाँचबुझ आयोगले मंगलबार वक्तव्य जारी गर्दै फौजदारी अपराधमा संलग्न जोकोहीमाथि कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । यसले प्रहरीले आन्दोलनका क्रममा भएका आगजनी र हिंसात्मक घटनाको अनुसन्धान तीव्र पार्न कानुनी बाटो खुला भएको सन्देश दिएको छ ।

प्रहरीले ओली र लेखक विरुद्ध पक्राउको प्रक्रिया अगाडि बढाए एमालेले त्यसको प्रतिवादमा उत्रिने देखिएको छ । ओली, लेखक लगायत पाँच जनालाई उपत्यका छाड्न छानबिन आयोगले रोक लगाएको छ । आयोगले उनीहरुसित कुनै बेला बयान लिनुपर्ने भएकाले राहदानी रोक्का गरी उपत्यका छाड्न समेत रोक लगाएको हो ।

जेन– जी अगुवाहरुको समूहले ओली र लेखकलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिँदै माइती घरको निषेधित क्षेत्रमा प्रदर्शन गरे । त्यस क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।

जेन– जीले कार्यकारी राष्ट्र प्रमुखको प्रावधान राखेर चुनावमा जानुपर्ने मागलाई उठाउँदै आए पनि एमालेले संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बताएको छ ।

छठपछि दुर्गा प्रसाईँले पनि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । प्रसाईँले गर्ने आन्दोलन पनि मुठभेडको अवस्थामा जान सक्ने सम्भावना बलियो छ । यस अघि दुर्गा प्रसाईँले गरेको आन्दोलन अराजक र हिंसात्मक बनेको थियो ।

विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पत्ति जेनजी आन्दोलनको आक्रमणमा परेपछि उनीहरु आजसम्म पनि सार्वजनिक भएका छैनन । नेपाली कांग्रेस दलभित्र नेतृत्व परिवर्तनको लागि आन्तरिक लफडामा फसिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट