Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

राजनीतिक भागबन्डाको संस्कृति बसालेको भूमि आयोग खारेज


जेनजी आन्दोलनपछि निर्माण भएको सुशिला कार्की नेतृत्वको सरकारले राजनीतिक भागवण्डाको आधारमा नियुक्ती हुँदै आएको भूमि आयोग खारेज गरेको छ । नेपालमा सरकार बदलिँदा केवल नीतिहरू होइन, आयोगहरू पनि बदलिन्छन् । भूमिसम्बन्धी प्रश्न दशकौँदेखि उठ्दै आएको भए पनि, त्यसको स्थायी समाधानका लागि बनेका आयोगहरू स्वयं समस्या बनेर समाप्त हुने क्रम जारी छ । पछिल्लो पटक असोज २३ गते मन्त्रिपरिषद्को निर्णयले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समिति खारेज ग¥यो ।

अन्तरिम सरकारको यो निर्णयपछि राजनीतिक नियुक्तीमा राज्यकोषको रकम चरम दुरुपयोग गरेको नेकपा एमालेले यसको झिनो स्वरमा विरोध ग¥यो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार, यस आयोगमा केन्द्र र जिल्लासम्म मिलाएर ३१६ पदाधिकारी र १,१०० भन्दा बढी प्राविधिक कर्मचारी थिए । चालू आर्थिक वर्षमै यसको लागि ८५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो, जसको अधिकांश हिस्सा तलब र भत्तामा जाने गथ्र्याे ।

राज्य अहिले जेन–जी आन्दोलनपछिको पुनर्निर्माण र निर्वाचन तयारीमा स्रोतको अभाव भोगिरहेको बेला यस्तो राजनीतिक नियुक्तिले राज्यको बोझ मात्र बढाएको थियो ।

२०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कार्यकर्ता देवी ज्ञवालीलाई आयोगको अध्यक्ष बनाए, त्यसपछि २०७८ सालमा शेरबहादुर देउवाले कांग्रेसका पूर्वशिक्षक संघ अध्यक्ष केशव निरौलालाई नेतृत्व सुम्पे ।

अध्यक्ष मात्र होइन, अन्य पदाधिकारीहरू पनि भागबन्डाको आधारमै नियुक्त हुने परम्परा बनिसकेको छ । यसरी पछिल्ला ३० वर्षमा भूमिसम्बन्धी आयोगहरूमा अर्बाैं रुपैयाँ तलब, भत्ता र कार्यालय खर्चमै सकिएको छ, तर भूमिहीनको समस्या अझै जस्ताको तस्तै छ ।

ओली सरकारले भूमिसम्बन्धी ल्याएको विधेयकमा गिरीबन्धु वा त्यस्तै प्रकृतिका हदबन्दीभन्दा बढीको जग्गा बिक्री वितरण गर्न दिने र वन, जंगल र मध्यवर्ती क्षेत्रका खाली जग्गामा समेत बस्ती बसाल्न मिल्ने नीति लिन खोजिएको थियो । यसको विपक्षी दल लगायतको विरोधका वावजुद पनि संसदीय समितिबाट वहुमतका आधारमा पारित गरी संसदमा लैजाने तयारीमा सरकार थियो । पोखराको लिचिबारीको जग्गा भूमाफियाको कब्जामा पुग्न आँटेको प्रकरण यसैको एउटा उदाहरण हो ।

भूमि आयोगले भूमिहिनहरुको समस्या समाधानभन्दा पनि विचौलियाको पक्षमा काम गर्दै थियो भन्नेमा आम जनतामा कुनै दुविधा थिएन । सरकारप्रति जनताको विश्वास हराएझै भूमि आयोगप्रति पनि भूमिहीनहरुको हितमा काम गर्छ भन्ने विश्वास थिएन ।

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने लक्ष्य बोकेर हरेक सरकारले आयोग बनायो, तर त्यसको कार्यान्वयन कहिल्यै परिणाममुखी काम हुन सकेन । भूमि वितरणलाई सामाजिक न्यायको माध्यम होइन, राजनीतिक ‘भोट बैंक’को औजार बनाइएको छ । धेरैजसो अवस्थामा ऐलानी जग्गामा बस्नेहरूले पनि राजनीतिक संरक्षणमा कब्जा जमाए र त्यसलाई वैधानिकता दिलाउन दलहरूले नै सहयोग गरे ।

त्यसैले नयाँ सरकारले आयोग खारेज गरेर आर्थिक बोझ घटाउने र अनुत्पादक राजनीतिक संरचनाहरू हटाउने कदम चालेको छ । यद्यपि, यसले भूमिहीनका वास्तविक समस्या समाधान नगरी फाइल मात्रै बन्द गरिदियो भने, त्यसले अर्काे असन्तोष जन्माउन सक्छ । अब निर्वाचनपछि बन्ने सरकारले यसलाई छिट्टै निरुपण गर्ने गरी काम थाल्नुपर्छ ।

भूमिहीनलाई जग्गा मात्र होइन, आवास, सीप र रोजगारीसँग जोड्ने योजनाले मात्र स्थायी परिवर्तन ल्याउन सक्छ ।

भूमि आयोगहरूलाई राजनीतिक नाफा–नोक्सानको औजार बनाउने संस्कृतिको अन्त्य हुन जरुरी छ । यदि हरेक सरकारले आफ्ना कार्यकर्ता राख्नकै लागि आयोग बनाउने हो भने, त्यस्तो आयोगको खारेजी नै संस्थागत सुधारको पहिलो चरण हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट