Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

झलनाथ खनालबारे आएका समाचार भ्रमपूर्ण´


काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का उपप्रमुख दामोदर अर्यालले पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबारे सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार फेसबुकमार्फत वक्तव्य जारी गर्दै अर्यालले खनालसँग प्रत्यक्ष सम्पर्क गरी बुझ्दा ‘माओवादीसँग एकता प्रक्रियामा झलनाथ खनालको ग्रिन सिग्नल’ भन्ने रातोपाटीमा प्रकाशित समाचार पूर्णतः भ्रामक र तथ्यहीन रहेको पुष्टि भएको बताएका छन् ।

उनले लेखेका छन्, “पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालज्युलाई जोडेर आएका समाचारको आधिकारिकता पुष्टि गरेर मात्र विश्वास गर्नुहुन सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछु ।”

अर्यालले सञ्चारकर्मीहरूलाई पनि कपोलकल्पित कथा नबनाउन आग्रह गर्दै भनेका छन्, “ताकि हामीले खण्डन गर्न नपरोस् ।”

अर्यालका अनुसार खनालले केही हप्ता अघि जारी गरेको आधिकारिक विज्ञप्ति नै आफ्नो दृढ राजनीतिक धारणा रहेको बताएका छन् । उक्त विज्ञप्तिमा खनालले नेकपा (एकीकृत समाजवादी) लाई पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अघि बढाउनुपर्ने अटल विश्वास व्यक्त गरेका थिए ।

“उहाँ बाहिर प्रचारित आधारहीन समाचार वा प्रचारप्रति कसैले पनि भ्रममा नपर्न र यस्ता गतिविधिबाट प्रभावित नहुन सबै कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई आग्रह गर्नुभएको छ,” अर्यालले बताएका छन् ।

खनालको स्पष्ट र दृढ धारणा दलगत स्वाभिमान, विचारको निरन्तरता र समाजवादी आन्दोलनको पुनर्जागरणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ छ ।

अर्यालले अन्त्यमा भनेका छन्, “कोही पनि विचलित नहुनुहोस् र कुनै पनि भ्रमपूर्ण प्रचारको भ्रममा नपर्नुहोस् ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट