प्रतिनिधिसभा निर्वाचनको तयारी: नयाँ मतदाता र दल थपिने क्रम जारी
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि नयाँ मतदाता दर्ता र राजनीतिक दल थपिने क्रम तीव्र रूपमा अगाडि बढेको छ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ वटा नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन्। केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन्, र केही दल एकताको प्रक्रियामा समेत छन्।
मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता
आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मङ्गलबारसम्म दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएका छन्।
कात्तिक २५ गतेसम्मको तथ्याङ्क अनुसार, १ लाख २२ हजार सात सय ४० पुरुष, ८६ हजार सात सय ८५ महिला र २७ जना अन्य गरी कुल २ लाख ९ हजार ५ सय २२ जना नयाँ मतदाता थपिएका हुन्। कात्तिक २५ गते एकै दिनमा मात्रै १३ हजार ६६ पुरुष, १० हजार पाँच सय ६७ महिला र ५ जना अन्य गरी २३ हजार छ सय ३८ नयाँ मतदाता दर्ता भएका छन्।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ। आयोगले गत असोज ९ गतेदेखि सुरु गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि युवा वर्गलाई नाम दर्ता गराउन आह्वान गर्दै आउनुभएको छ।
मतदाता दर्ता प्रक्रिया र शर्तहरू
नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोमेट्रिक) दिनुपर्छ। विवरण दिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन (पूर्वदर्ता) पनि गराउन सकिन्छ।
हाल नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन अर्थात् आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ। आयोगले हाल नामावली सङ्कलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ। निर्वाचनपछि पुनः नामावली सङ्कलन हुने भएकाले आसन्न निर्वाचनमा भाग लिन नपाउनेहरूलाई अहिले नामावली सङ्कलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो।
भीड व्यवस्थापनका लागि अतिरिक्त व्यवस्था
आयोगले नाम दर्ता स्थलहरूमा देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहजरूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। यसका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाई सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटाउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ। गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेहरूको सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० रहेको थियो। नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइको प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ।
दल दर्ताको सङ्ख्या १२५ पुग्यो
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको सङ्ख्या १ सय २५ पुगेको छ। निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी रहेको छ। पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ। हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ। दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन्।
नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र दुई/दुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ।
निर्वाचन प्रयोजनका लागि अलग्गै दर्ता हुनुपर्ने
निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ। त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ। आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालकाअनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नेछ। सोका लागि आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ। यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि दल दर्ताको निवेदन दिन पाउनेछन्।
यसैबीच निर्वाचनको समग्र तयारी, आयोग र सरकारको समन्वयका विषयमा आज प्रधानमन्त्री कार्की र आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुँदैछ। सरकारले विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श गर्दै आएको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया