Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

‘धुर्मुस–हुण्डी फाउन्डेसन’ः पर्दा पछाडि रहेका दर्जनौँ अनुत्तरित प्रश्न


चितवन । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विवाद अहिले पुनः सतहमा आएको छ । क्याम्पसको सार्वजनिक जग्गा हठात जवर्जस्त प्रयोग गरिनु, हुण्डीमार्फत आएको भनिएको करोडौँ रकम, निर्माण प्रक्रियामा पारदर्शिताको अभाव र अत्याधिक भावनात्मक प्रचार–प्रसार यी सबै कारणले ‘धुर्मुस–हुण्डी फाउन्डेसन’ गम्भीर प्रश्नको केन्द्रमा छ । कृषि शिक्षा र अनुसन्धानका लागि प्रयोग गरिनु पर्ने जग्गामा जबर्जस्ती रंगशाला निर्माण गरिनु पछाडिको निर्णय प्रक्रियासमेत आज आलोचनाको विषय बनेको छ ।

सुरुदेखिकै विवाद ः क्याम्पसले जग्गा किन दियो ?

क्याम्पसको जग्गा यसरी दिनु हुँदैन भनेर सुरुमै प्रतिवाद भएको थियो । तत्कालीन क्याम्पस प्रशासन र भरतपुर महानगरपालिकाको गल्तीका कारण पनि आजको जटिल अवस्था बनेको हो । कृषि मुख्य आर्थिक मेरुदण्ड भएको देशमा कृषि क्याम्पसलाई प्रयोगशालासहितको पूर्वाधार विकासका लागि नै व्यापक जमिन आवश्यक हुन्छ । तर, त्यही शिक्षण–अनुसन्धानका लागि चाहिने जग्गा अनाधिकृत संस्था, व्यक्तिमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिँदा प्रारम्भदेखि नै विवाद भएको हो ।

धुर्मुस–सुन्तलीलाई फेरि चर्चामा ल्याउने कारण

केही साता यता सीताराम कट्टेल ‘धुर्मुस’ पुनः चर्चाको केन्द्रमा आएका छन् । उनी र उनकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ कहिले लोकप्रिय कलाकारका रूपमा, कहिले सामाजिक परियोजनाका अभियन्ताका रूपमा सार्वजनिक बहसमा आइरहने पात्र हुन् । ‘मेरी बास्सै’ टेलिचलचित्र निर्माण, यसबाट विदाइ, उनीहरूको वैवाहिक सम्बन्ध, सामाजिक अभियान र बृहत्त रंगशाला बनाउन थालेको प्रसङ्ग—यी विषयले सदैव चर्चा पाइरहे ।
तर, यतिबेला भने उनीहरूलाई चर्चामा ल्याउने कारण कलाकारिता वा समाजसेवाको चर्चा होइन, जो भेट्यो, उसैसँग रोएझैँ गरी सहानुभूति बटुल्ने, भावनात्मक भिडियो बनाउने र ‘मलाई बचाइदिनुहोस्’ भन्ने शैलीको मिडियाबाजी हो । कतिपयले यी ‘नक्कली आँसु’ भित्र ठूलो रहस्य लुकेको दाबी गर्न थालेका छन् । रंगशाला निर्माणका नाममा ‘गैरकानुनी धन्दा’ चलाएको आरोपले फाउन्डेसनलाई थप विवादमा तानिरहेको छ ।
१८ करोड उधारो मुख्य मुद्दा होइन

अहिले सार्वजनिक रूपमा १८ करोड उधारो मुद्दा बनाइए पनि वास्तविक विवाद त्यसभन्दा गम्भीर छ । रंगशाला निर्माणमा कृषि विश्वविद्यालयको जग्गा दिने निर्णय प्रक्रिया नै विवादित छ । जुन तत्कालीन क्याम्पस अधिकारी र भरतपुर महानगर दुवै उत्तरदायी छन् । धुर्मुस–सुन्तलीलाई कानुनी निसाना नलाग्ने गरी अस्वाभाविक अधिकार दिइएको देखिन्छ । यसले अझ गम्भीर बनाएको छ ।

वास्तविक रूपमा १८ करोड उधारोको नेपथ्यमा दुईवटा ठूलो मुद्दा लुकाइएको छ । विदेशी हुण्डीमार्फत आएको भनिएको करिब २५÷२६ करोड रुपैयाँ र निर्माण सामग्री खरिदमा भएका अनियमितता ।

१. करिब २५/२६ करोडको हुण्डी कारोबार ः सबैभन्दा गम्भीर प्रश्न

रंगशाला निर्माणमा करिब ६० करोड खर्च भएको उल्लेख छ । करिब ९ करोड महायज्ञबाट उठेको, १८ करोड उधारो, ४÷५ करोड नेपालमै रहेका शुभेच्छुकबाट आएको—यी रकमहरू अपेक्षाकृत स्पष्ट छन् ।
तर बाँकी २५÷२६ करोड कहाँबाट आयो ? एउटै कथन छ—विदेशबाट हुण्डीमार्फत ।

साउदी, कतार, दुबई, मलेसिया, कोरिया, पोर्चुगल, अमेरिका लगायत मुलुकमा फेसबुक समूहमार्फत पैसा उठाइएको थियो । ती समूह धेरैजसो हुण्डी व्यवसायसँग जोडिएका व्यक्तिहरूकै नियन्त्रणमा थिए । संकलित रकम विदेशमै राखियो र नेपालमा कालो–सेतो कारोबार हुने सञ्जालमार्फत फाउन्डेसनलाई भुक्तानी गरिएको आरोप छ ।

हुण्डी के हो ?

वैदेशिक–घरेलु पैसाको अवैध सञ्जाल, कर छल्ने माध्यम, राज्यको वित्तीय नियमावलीको प्रत्यक्ष उल्लङ्घनको माध्यम हो हुण्डी कारोबार । अब प्रश्न उठ्छ– धुर्मुसको हुण्डी एजेन्टसँग यस्तो नजिकको सम्बन्ध किन थियो ? यदि यो मुद्दाको औपचारिक अनुसन्धान भयो भने फौजदारी दायित्वबाट उम्किन कठिन देखिन्छ ।

२. निर्माण सामग्री खरिदमा कमिशन ः पारदर्शिता शून्य

रंगशाला बनाउँदा छड, सिमेन्ट, गिट्टी–बालुवा, ढुंगा, क्रसर सामग्री अन्धाधुन्ध खरिद गरिएको छ । नेपालमा यस्ता काममा कमिशनको खेल कति व्यापक छ भन्ने सबैलाई थाहा छ । ‘रंगशाला बन्छ’ भन्दै एउटा कम्पनीले मात्र १०० भन्दा बढी ट्रिपर सामग्री दिएको उदाहरण छ ।
तर, कति सामग्री कति परिमाणमा आयो ?, कुन दरमा खरिद भयो ?, कसरी भुक्तानी गरियो ?, भ्याट बिल छ कि छैन ?, अडिट कहाँ छ ? कुनै विवरण सार्वजनिक छैन । ६० करोडको परियोजनामा १० प्रतिशत कमिशन खाँदा पनि ६ करोड हुन्छ । त्यो पैसा कहाँ गयो ? यो प्रश्न अझै अनुत्तरित नै छ ।

३. भावनात्मक अभिनय, भिडियो, क्यामेरा र ‘कथित सहानुभूति’

हाल धुर्मुस सर्वत्र रोइरहेका, बचाउबचाउ भन्दै हिँडिरहेका दृश्य प्रशस्त देखिन्छन् । तर यो भावनात्मक अभियान कतिपयको विश्लेषणमा रणनीतिक अभिनय जस्तै देखिन थालेको छ ।

चुनावी सल्लाहकारजस्तै व्यवहार गर्ने समूह, क्यामेरा देख्नेबित्तिकै आँसु झार्ने प्रवृत्ति, बिरामी छोरीको प्रसङ्गलाई अत्याधिक भावनात्मक बनाउने शैली, मानसिक सन्तुलन गुमाएको अभिनयले उल्टै शंका बढाएको छ ।
कठै मेरो देश, कठै कलाकारको पतन

रंगशाला निर्माणको सपना मूलतः राम्रै थियो । तर सपना पूरा गर्ने तरिका गलत भयो भने त्यो सपना नै भ्रष्टाचार, अवैध लेनदेन र अपारदर्शिताको दलदलमा फस्छ । हुण्डी कारोबार, कालो पैसा सेतो बनाउने प्रक्रिया, निर्माण सामग्रीमा करोडौँ कमिशन, बिल–भौचर र अडिटविहीन खर्च, नक्कली भावनात्मक अभिनयद्वारा दोष लुकाउने प्रयास भएको आशंका जन्माएको छ । यी आरोपहरूको छाया यत्तिकै हट्नेवाला छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट