Techie IT
Samayabaddha
बुधबार, २ पुस, २०८२

एमालेमा ओली कि पोखरेल ?


काठमाडौं । काठमाडौंमा ह्वात्तै चिसो बढिरहदा नेकपा(एमाले)को एघारौं महाधिवेशनले भने राजनीति तताएको छ । जेनजी आन्दोलनको प्रभावका कारणले झण्डै एकवर्ष अगाडि सारिएको यो महाअधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली तेहेरिने गरी मैदानमा ओर्लिएका छन् भने उनलाई वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिएका छन् । आजै (मंगलबार) हुने २२ सयभन्दा बढी प्रतिनिधिहरूबीचको मतदानले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित तीनसय एक केन्द्रीय सदस्यबारे फैसला गर्नेछ । ओली र पोखरेल आ–आफ्नो घोषित–अघोषित प्यानलसहित खडा भएका छन् ।

नवौं महाधिवेशनमा अध्यक्ष जितेलगत्तै कुनै पनि कक्षा दोहो¥याएर नपढ्ने उद्घोष गरेका ओली परिस्थितिको चुनौती भन्दै दशौं महाधिवेशनमा दोहोरिएका थिए । खासमा नवौं महाधिवेशनमै अर्कोपटक ईश्वरलाई अध्यक्ष बनाउने सहमति भएको पूर्वराष्ट्रपति विद्या भण्डारीले हालै खुलासा गरेकी छन् । तर गत भदौमा सम्पन्न विधान अधिवेशनबाट आफु नेतृत्वमा आउन अनुकूल हुने गरी अध्यक्षमा दुई कार्यकाल र ७० वर्षीय उमेरहदको सीमालाई हटाउँदै ओली अहिले तेस्रो कार्यकालका लागि अगाडि सरेका हुन् ।

विधान महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्मको यो तीनमहिनामै आइतबारको बन्दसत्र अघिको अन्तिम केन्द्रीय कमिटी बैठकबाट फेरि विधान संशोधन प्रस्ताव गरि १५ पदाधिकारी संख्यालाई १९ बनाईएको छ । आफ्नो समुहमा पदाधिकारीहरूको आकांक्षी बढी भएपछि तिनलाई व्यवस्थापन गर्न ओलीको प्रस्तावमा बहुमतबाट विधान संशोधन गरिएको हो ।

विधान संशोधनविरुद्ध भदौको विधान अधिवेशन र आइतबारको केन्द्रीय कमिटी बैठकमा पनि ईश्वर पोखरेल पक्षले चर्को आवाज उठाएको थियो । तीन महिनाबीचमै विधान संशोधन गरिएपछि एमाले विधान अधिवेशनको औचित्यमै प्रश्न खडा भएको छ । खास नेता(ओली) र उनको समूहको हितका लागि मात्रै बारम्बार विधानलाई गिजोल्नु, एमालेको आन्तरिक जीवनमा मात्र होइन, लोकतान्त्रिक प्रणालीमै पनि लज्जाको विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

दशौं महाधिवेशनका प्रतिनिधि, सचिवालय, केन्द्रीय कमिटी र विधान अधिवेशनका प्रतिनिधिको बहुमत देखाएर ओलीले पार्टीमा एकलौटी गरे पनि एघारौं महाधिवेशनबाट अब त्यो नचल्ने पोखरेल पक्षधरहरू बताउँछन् । यद्यपि सतहमा अहिलेका प्रतिनिधिहरू पनि ओलीकै धेरै छन् भनिंदैछ । तर पार्टीको लोकतान्त्रिकरण खण्डित भएको तथा पछिल्लो जेनजी आन्दोलनले पार्टीहरूको रूपान्तरण र नेतृत्व पुस्तान्तरणको अपरिहार्यता सिर्जना गरेको अवस्थाबीच पोखरेल पक्ष आफूहरू नै निर्वाचित हुनेमा ढुक्क देखिएको छ ।

एजेन्डा र नेतृत्वका दृष्टिले महाधिवेशनमा पोखरेल पक्ष सुदृढ देखिंदैगर्दा ओली पक्षमा चरम आन्तरिक असन्तुष्टि देखिएको छ । उपाध्यक्ष प्रस्तावित प्रदीप ज्ञवाली महासचिव नपाएपछि र एउटै(शंकर पोखरेल)लाई फेरि दोहो¥याइएपछि केन्द्रीय सदस्यमा मात्र उमेद्वारी दर्ज गरेर रुँदैरुँदै घर फर्किएका छन् । ओलीलाई फुटबलको पेले भन्दै, ‘उहाँलाई पछार्ने तागत कस्को ?’ भन्ने कृष्णगोपाल श्रेष्ठ पोखरेल पक्षबाट सचिव उमेदवार भएका छन् । अनुशासन आयोग संयोजकमा ओलीका काँशीनाथ अधिकारी र लालबाबु पण्डित दुबैले इच्छा देखाएनन् । ओली पक्षका कयौं आकांक्षीबीच नेतृत्वमा भाँडभैलो भएको छ । अग्नि खरेललगायत ओली पक्षका भनिने धेरैले स्वतन्त्र उम्मेदवारी हालेका छन ।

पोखरेल पक्षलाई पूर्वराष्ट्रपति विद्या भण्डारीले पूर्ण साथ दिएकी छन्, जसको पार्टी सदस्यता नवीकरण हुन ओलीले दिएका थिएनन् । त्यतिमात्र होइन, विद्या लक्षित तल्लोस्तरको टिकाटिप्पणीमा ओली उत्रिएका थिए । एमालेको मार्गदशक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता स्व. मदन भण्डारीको श्रीमती हुनुका कारणले मात्र होइन, जीवनभर ओली समूहलाई साथ दिएकी, पार्टीको उपाध्यक्षसम्म भएकी र पूर्वराष्ट्रपति हुनुको व्यक्तित्वसमेत बोकेकी भण्डारीको समर्थनले पोखरेललाई बलियो आधार दिने एमालेजन नै बताउँछन् । ओली पक्षबीचको पछिल्लो असन्तुष्टिले पनि पोखरेल पक्षलाई फाइदा पुग्ने आँकलन गरिंदैछ ।

ईश्वरले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक अवधारणासमेत एमालेको अबको सिद्धान्त र प्राथमिकताबारे बलियोसँग आएको छ । जबकि ओलीले जेनजी आन्दोलनपछिको राजनीतिक चुनौतीलाई पुरै नजरअन्दाज गरेका छन् । नजरअन्दाज मात्रै गरेका छैनन्, त्यो आन्दोलनको निमित्त कारण आफू नेतृत्वको सरकार हो, आफ्नै अलोकतान्त्रिक जिद्दी र सुशासनहीनताका कारणले मुलुक गैरसंवैधानिक सुशीला कार्की स्वीकार्नुको बाध्यतामा पुगेको हो भन्ने पनि स्वीकारेका छैनन् ।

अहिलेको राजनीति र कम्युनिष्ट राजनीतिको प्राथमिकतामा जवज, अब पार्टी संचालनसम्बन्धि जनवादी कार्यक्रम मात्रै हो । यसलाई त्यही रूपमा बुझ्दै समाजवाद प्राप्तिको कम्युनिष्ट सहकार्यमा पोखरेलले अझै जोड दिनसके उनको जीतको सार्थकता हुनेछ । तर ओलीले जित्छन् कि पोखरेलले, आज रातिसम्म परिणाम पर्खिनुपर्ने छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट