फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाण्डौ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले व्यापक सुरक्षा तयारी अघि बढाएको छ । निर्वाचनका लागि करिब ८० हजार नेपाली सेना र झण्डै डेढ लाख ‘निर्वाचन प्रहरी’ परिचालन गरिने भएको छ ।
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले चुनावका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले त्यही अनुसार सेना परिचालन हुने जानकारी दिएका छन् । एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ ।
चुनावका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।
चुनावको सिलसिलामा सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ ।
मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ ।
नेपाली सेनाले आफ्नो कुल जनशक्तिको ९५ प्रतिशत प्रयोग गर्दै देशभर सुरक्षा जिम्मेवारी सम्हाल्ने तयारी गरेको हो ।
हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका स्थानमा एक महिना अघि नै सेनाले जिम्मेवारी लिँदा ती प्रहरी जनशक्ति प्रत्यक्ष निर्वाचन सुरक्षामा परिचालित हुनेछन् । प्रतिष्ठान र संवेदनशील संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ । सेनाको परिचालनका लागि राष्ट्रपतिबाट पहिल्यै स्वीकृति प्राप्त भइसकेको छ ।
यता गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड स्वीकृत गर्ने तयारी गरेको छ । यसअनुसार नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी भर्ना गर्नेछन् । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले स्वीकृति लगत्तै देशभर भर्ना प्रक्रिया सुरु हुनेछ ।
भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइनेछ र एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइनेछ । उनीहरूले प्रहरी जवान सरह सेवा–सुविधा, बीमा, पोसाक र रासन भत्ता पाउने छन् । पूर्व सुरक्षाकर्मी र अघिल्ला निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिइनेछ ।
यस पटक मतदानस्थल संख्या १० हजार ९६७ पुगेको छ, जसमा ३ हजार ५ सय स्थल अति संवेदनशील मानिएका छन् । मतदानस्थल र संवेदनशीलता दुवै बढेकाले अघिल्लो निर्वाचनको तुलनामा करिब ३५ हजार बढी निर्वाचन प्रहरी थप गरिएको हो । साथै, पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्दै मोबाइल गस्ती र स्ट्राइकिङ टोलीमा संख्या बढाउने तयारी गरेको छ ।
नेपाल प्रहरीले अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा छुट्टै निर्वाचन सुरक्षा सेल गठन गरी तयारी तीव्र पारेको छ । सरकार र सुरक्षा निकायहरूले समन्वित रूपमा काम गर्दै सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने लक्ष्य लिएका छन् ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया