वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो, ६ महिनामा ४ खर्ब बढीको सामान भित्रियो
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
गत आवको छ महिनाका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आर्थिक वर्षको छ महिनामा भने ३ खर्ब ८० अर्ब छ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए।
चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड रुपैयाँ मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आर्थिक वर्षको छ महिनामा ३० अर्ब एक करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँ मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया