Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

नेपालमै पहिलोपटक नारायणी नदीमा राइनो क्रुज सञ्चालनमा


नवलपुर । नारायणी नदीमा नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । जल पर्यटनको प्रवद्र्धन र धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको हो ।

आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।

क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजले यहाँको पर्यटन प्रवद्र्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभइ देवघाटधाम र त्रिवेणीधामसम्म जोड्नुपर्नेमा जोड दिए ।

क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधाअड्चन भएको भन्दै अधिकारीले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् होटल रिभर क्राउनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताए ।

क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभइ यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने भट्टराईको भनाइ छ । क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि पनि आफूहरुले भूमिका खेल्ने डा भट्टराईले बताए ।

क्रुज सञ्चालनकै क्रममा होटल व्यवसायी प्रभाकर पण्डितले क्रुजको सञ्चालनले यहाँको आर्थिक क्रियाकलापलाई चलायमान एवम् आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताए । क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवम् होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको जानकारी दिए ।

साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाई २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता दुई सय जना भए पनि एक पटकमा १५० जनालाई सेवा दिने बताए । सामान्यता क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने ढुङ्गेलको भनाइ छ ।

क्रुजले ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ, डिनर क्रुजिङ, विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता शुभकार्य क्रुजिङ एवम् अन्य स्पेसल बुकिङका आधारमा क्रुजिङ गर्ने ढुङ्गेलले बताए । क्रुजिङका लागि साधारण टिकट पाँच सय तोकिएको छ । ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार तथा डिनर क्रुजिङको तीन हजार एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको ढुङ्गेलले बताए ।

क्रुजले प्रति यात्रु १० लाख बराबरको बिमा गराएको कम्पनिले होटल र क्रुजका लागि ५० करोडको लगानी गरेको जनाएको छ । क्रुजलाई वर्षभरी सञ्चालन गर्ने योजनासहित गैँडाकोटबाट सञ्चालनमा ल्याइएको क्रुजले ठूलो हावा तथा पानीको बहावमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको ढुंगेलको भनाई छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट