Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

जेनजी शहीद परिवारलाई करिब १२ करोड रुपैयाँ अनुदान


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई करिब १२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत ११ करोड ९० लाख २८ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको हो।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सोमबार वितरण कार्यक्रमको विस्तृत खाका र अनुदान रकमसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको हो ।

सुरुमा प्रचलित कानुनअनुसार जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको थियो। तर जेनजी शहीद परिवारले कर्मचारीले पाउने तलबसरह नियमित भत्ता उपलब्ध गराउन माग गरेपछि मन्त्रिपरिषद्ले अनुदान रकम उपलब्ध गराउने नयाँ निर्णय गरेको हो।

गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४२ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरेको छ।

शहीद घोषणा गरिएका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने तयारी गरेको छ। प्रत्येक वर्ष चाडपर्व भत्तासहित १३ महिनाको सुविधा प्रदान गरिनेछ। ४२ शहीद परिवारलाई सोही दरअनुसार भत्ता वितरण गर्दा कुल रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ पुग्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट