Techie IT
Samayabaddha
आईतबार, ३ फागुन, २०८२

सोया बरीमा कडाइ: सरकारले ल्यायो नयाँ गुणस्तर मापदण्ड


काठमाडौं । बजारमा बिक्री हुँदै आएको सोया बरीको गुणस्तरमा सुधार ल्याउन सरकारले नयाँ प्राविधिक मापदण्ड लागू गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा ३ अनुसार उत्पादन, प्याकेजिङ र वितरणसम्बन्धी स्पष्ट निर्देशिका जारी गरेको हो।

मन्त्रालयका अनुसार राजपत्रमा सूचना प्रकाशित भएको मितिले १८१औँ दिनदेखि यो मापदण्ड अनिवार्य रूपमा कार्यान्वयनमा आउनेछ। त्यसपछि तोकिएका मापदण्ड पूरा नगर्ने उद्योग तथा विक्रेतामाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

नयाँ व्यवस्थाअनुसार सोया बरी भन्नाले तेल निकालिएको भटमासको पिठो, ग्रिट्स वा दलियालाई एक्सट्रुजन प्रविधिबाट तयार गरिएको टेक्सचराइज्ड सुक्खा सोया उत्पादनलाई जनाउनेछ। सोया चंक, सोया बडी, सोया ग्रानुल्स र सोया नगेट्स समेत यसै अन्तर्गत पर्नेछन्। उत्पादन प्रक्रियामा अन्य खाद्य पदार्थ बढीमा तीन प्रतिशतसम्म मात्र मिसाउन पाइनेछ।

गुणस्तरका सर्तहरू पनि कडा बनाइएका छन्। सुक्खा तौलका आधारमा क्रुड प्रोटिन कम्तीमा ४५ प्रतिशत हुनुपर्नेछ भने ओस वा जलांश १० प्रतिशतभन्दा बढी हुन नहुनेछ। कुल भष्म ८ प्रतिशत र क्रुड फाइबर ३.५ प्रतिशतभित्र सीमित राख्नुपर्ने व्यवस्था गरिएको छ। एसिडमा नघुल्ने भष्म ०.३ प्रतिशतभन्दा बढी हुन नपाइनेछ।

त्यसैगरी उत्पादनमा प्रयोग हुने हेक्जेन वा अन्य अर्गानिक सल्भेन्ट १० मिलिग्राम प्रतिकिलोभन्दा कम हुनुपर्नेछ भने एफ्लाटक्सिनको मात्रा १५ माइक्रोग्राम प्रतिकिलोभन्दा तल राख्नुपर्ने अनिवार्य सर्त तोकिएको छ।

स्वच्छताको दृष्टिले कृत्रिम बाह्य रङ, सुगन्ध तथा दोस्रो श्रेणीका परिरक्षी प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। ढुसी लागेको, किरा परेको वा सडेको उत्पादन बजारमा ल्याउन नपाइनेछ। साथै कपाल, भुस, ढुंगा, माटो, बालुवा, काँच वा प्लास्टिकजस्ता बाह्य पदार्थ मिसिन नहुने स्पष्ट व्यवस्था गरिएको छ।

प्याकेजिङ र लेबलिङमा पनि कडाइ गरिएको छ। अब सोया बरीलाई ‘फुड ग्रेड’ सामग्रीमा सफा र सुक्खा रूपमा सिलबन्द गर्नुपर्नेछ। लेबलमा ऐनले तोकेका सबै विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने प्रावधान छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट