बझाङमा २ हजार ८८३ सुरक्षाकर्मी परिचालन, निर्वाचन तयारी अन्तिम चरणमा
काठमाडौं । फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बझाङमा तयारी तीव्र पारिएको छ। प्रशासन र निर्वाचन संयन्त्रले मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कामलाई अन्तिम रूप दिएका छन्।
निर्वाचनका लागि १ हजार १ सय ३४ जना कर्मचारी खटाइसकिएको छ भने उनीहरूलाई आवश्यक तालिम दिने कार्य अघि बढिरहेको छ। फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
सुरक्षातर्फ यसपटक अघिल्लो २०७९ सालको निर्वाचनको तुलनामा थप कडाइ अपनाइएको प्रशासनको दाबी छ। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र धमलाका अनुसार विगतका कमजोरी दोहोरिन नदिने गरी समग्र सुरक्षा योजना तयार गरिएको छ।
निर्वाचन अवधिभर ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी गरी कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। प्रशासनले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ।
जिल्लामा १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन्, जसमा ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला छन्। निर्वाचनका लागि २ अस्थायी र १ सय ८९ स्थायी गरी १ सय ३७ मतदानस्थल तोकिएका छन्। तीमध्ये ३ सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।
जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ। मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया