सवारी दुर्घटनामा दुई जनाको मृत्यु
इनरुवा । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हँुदा ऋषिदेव गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका छन् । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो ।
सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया