निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार म्यादी प्रहरीसहित कुल ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी देशभर परिचालन गरिएको जनाइएको छ।
सुरक्षा निकायअनुसार नेपाली सेना का ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बल का ३४ हजार ५ सय ७६, नेपाल प्रहरी का ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभाग का १ हजार ९ सय २१ र निर्वाचनका लागि खटाइएका म्यादी प्रहरी १ लाख ४९ हजार ९० जना रहेका छन्।
निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग नियमित रूपमा देशभरको सुरक्षा अवस्थाबारे छलफल गरिरहेको जनाएको छ। हालसम्म कुनै गम्भीर सुरक्षा चुनौती नदेखिएको आयोगको दाबी छ।
यसपटक भने विगतका अनुभव र राजनीतिक दलहरूको सुझावलाई ध्यानमा राख्दै सेना परिचालनको ढाँचा परिमार्जन गरिएको छ। अघिल्ला निर्वाचनमा सेना तेस्रो घेरामा सीमित हुँदा प्रभावकारिता कम भएको गुनासो आएपछि आवश्यक परे पहिलो घेरामै खटाउन सकिने व्यवस्था गरिएको जनाइएको छ।
निर्वाचन सुरक्षा समितिको प्रारम्भिक बैठकले नै निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गरेको थियो। प्रतिनिधिसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गराउन सबै सुरक्षा संयन्त्र सक्रिय रूपमा परिचालित छन्।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया