Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

शीर्ष नेताहरूले मतदान गरे, विप्लव १८ वर्षपछि चुनावमा सहभागी


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छिन्। त्यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–२९ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मत हालेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–३० को मैतीदेवी मन्दिर मतदान केन्द्रमा पुगेर मतदान गरे। तर कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुरमा रहेकाले मतदानमा सहभागी हुन सकेनन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति स्कुल मतदान केन्द्रबाट मतदान गरे। नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट मत हाले।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ बाट र पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम–१ अन्तर्गत सूर्योदय नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मत हाले। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट मतदान गरे भने सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौं–२ बाट मत हालेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दीबारी–१ स्थित मतदान केन्द्रबाट मतदान गरे। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ बाट मतदान गरेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंको बौद्धस्थित महांकालमा रहेको जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत हाले।

यसैबीच, विगतमा निर्वाचन बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदानमा सहभागिता जनाएका छन्। उनले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान–१८ स्थित कारमेल स्कुल मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट