७ महिनामा ४३ करोडको कोदो आयात, गत वर्षभन्दा करिब ९ करोडले घट्यो
काठमाडौं । नेपालमा कोदो आयात गत वर्षको तुलनामा घटेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघ मसान्तसम्म करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा झण्डै ९ करोड रुपैयाँले कम हो।
भन्सार विभागका अनुसार सात महिनाको अवधिमा कुल ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ, जसको मूल्य ४२ करोड ९७ लाख १४ हजार रुपैयाँ रहेको छ। यसमध्ये खाने प्रयोजनका लागि प्रयोग हुने अन्य कोदो ४२ करोड ९३ लाख १५ हजार रुपैयाँ बराबरको ८ हजार ५ सय ५८ टन आयात गरिएको छ। साथै ३ लाख ९९ हजार रुपैयाँ बराबरको ६ टन कोदोको बिउ पनि आयात भएको छ।
यस अवधिमा कोदो आयातबाट सरकारले २ करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने १० हजार ३ सय ९९ टन कोदो आयात भएको थियो, जसको मूल्य ५२ करोड ५ लाख २२ हजार रुपैयाँ थियो। त्यतिबेला ५२ करोड ३ लाख रुपैयाँ बराबरको अन्य कोदो र २ लाख २३ हजार रुपैयाँ बराबरको ४ टन बिउ कोदो आयात भएको थियो।
उक्त अवधिमा कोदो आयातबाट सरकारले ३ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
यसरी गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा कोदो आयातको रकम, परिमाण र त्यसबाट संकलन हुने राजस्व तीनै पक्षमा गिरावट देखिएको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया