जीवन आचार्यको सम्पत्ति विवरणमाथि प्रश्न
काठमाडौँ । सानो व्यवसायबाट सार्वजनिक जीवनमा प्रवेश गरेका जीवन आचार्यको सम्पत्ति विवरणले उनको आर्थिक हैसियत अपेक्षाभन्दा तीव्र रूपमा विस्तार भएको देखिएपछि त्यसको स्रोत र प्रकृतिबारे अनुसन्धान सुरू भएकाे छ ।
प्रचण्ड पुत्री गंगा दाहालसँग विवाहपछि उनको राजनीतिक पहुँच बढेको पृष्ठभूमिमा सार्वजनिक भएको विवरणबाट खाेजी कार्य सुरू भएकाे अनुसन्धानमा खटिएका एक कर्मचारीले जानकारी दिए ।
कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री रहँदा आचार्यले बुझाएको सम्पत्ति विवरणअनुसार ललितपुर, विराटनगर र मोरङमा फैलिएको घरजग्गा स्वामित्व देखिन्छ । ललितपुरको सुनाकोठीमा साढे दुई तले घरसहितको जग्गा ३६ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ भने विराटनगरमा पनि साढे दुई तले घरसहितको जग्गा १३ लाख ५० हजारमा खरिद गरिएको जनाइएको छ । बजार मूल्यसँग तुलना गर्दा यी रकमहरू यथार्थपरक हुन् वा न्यून मूल्याङ्कन गरिएको हो भन्ने प्रश्न उठेको छ ।
मोरङको साबिक हात्तीमुढा क्षेत्रमा विभिन्न कित्तामा ठूलो परिमाणमा जग्गा स्वामित्व देखिन्छ, जसको केही भाग व्यवसायिक आम्दानीबाट खरिद गरिएको र केही पैतृक सम्पत्तिबाट प्राप्त भएको दाबी गरिएको छ । तर, सानो व्यवसायबाट आएको आम्दानीले यति ठूलो परिमाणको सम्पत्ति संकलन कसरी सम्भव भयो भन्ने विषय स्पष्ट छैन । फेरि उनले गंगा दाहालसँग विवाह गरेपछि व्यवसायमा जाेडिएकाे देखिदैंन । उनी पटकपटक निर्वाचन लडेका छन् र हाल काेशी प्रदेशका सांसद छन् ।
उनले बुझाएकाे सम्पत्ति विवरणमा थप २० तोला सुन, ५० तोला चाँदी, ४५ लाख रुपैयाँ बैंक मौज्दात तथा काठमाडौँका दुई कम्पनीमा कुल ८० लाख रुपैयाँ बराबरको शेयर लगानीले आचार्यको वित्तीय विस्तारलाई थप प्रश्नको घेरामा ल्याएको छ । उक्त लगानीको स्रोत जग्गा बिक्री र ‘लाइफ कम्प्युटर प्वाइन्ट’ व्यवसाय भनिए पनि त्यसको वास्तविक आम्दानी, कर विवरण र कारोबारको पारदर्शिताबारे विवरण खुलाइएको छैन ।
ऋणतर्फ ८५ लाख रुपैयाँ बराबरको दायित्व देखाइएको भए पनि उच्च मूल्यको सम्पत्ति, शेयर लगानी र ४१ लाख रुपैयाँको गाडी खरिदले कुल सम्पत्ति संरचनामा असन्तुलन देखिएको विश्लेषण हुन थालेको छ ।
राजनीतिक पहुँच विस्तारसँगै सम्पत्तिको तीव्र वृद्धि हुनु संयोग मात्र हो वा संरचनात्मक पहुँचको परिणाम हो भन्ने प्रश्न यतिबेला केन्द्रीय बहसको विषय बनेको छ । सार्वजनिक पदमा पुगेपछि सम्पत्ति विवरण पेस गर्नु कानुनी दायित्व भए पनि त्यसको विश्वसनीयता, यथार्थता र स्रोतको पारदर्शिता सुनिश्चित गर्नु अझ महत्वपूर्ण मानिन्छ ।
यस प्रकरणले नेपालमा राजनीतिक पहुँच, पारिवारिक सम्बन्ध र आर्थिक उन्नतिको सम्बन्धबारे पुनः बहस आवश्यक रहेको संकेत गरेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया