प्रहरीको रफ्तारः ४ दिनमा देशभरबाट २२६ जना पक्राउ !
काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए ।
यस्तै, २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौं उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । प्रवक्ता काफ्लेले अभियान जारी रहने बताएका छन् ।
काठमाडौं प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जना, विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौं’ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।
यस्तै काठमाडौंको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए ।
यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुर्व्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताए ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया