उपसभामुखमा रुवी र सरस्वतीको उम्मेदवारी दर्ता, रुवी कुमारीलाई रास्वपाको पनि समर्थन !
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरले आज उमेदवारी दर्ता गराएका छन् ।
उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
प्रतिनिधिसभामा एकल बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि श्रमसंस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता पछि रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवी कुमारीलाई उपसभामुखमा मतदान गर्ने पत्रकारहरूसँग बताएका थिए ।
यसअघि उपसभामुख पदमा नेकपाले पनि दाबि गर्दै आएको थियो । आजै रास्वपासँग नेकपाका प्रतिनिधिले वार्ता समेत गरेका थिए । उपसभामुख संविधानिक परिषदको पनि सदस्य रहने संवैधानिक व्यवस्था छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया