Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

उपसभामुख ठाकुरले लिइन् ुपद तथा गोपनियताको सपथ ! को हुन ठाकुर ?


प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्वबारे चर्चा सुरु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा उनी राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । सभामुख डोलप्रसाद अर्यालले सदनमा नतिजा घोषणा गर्दा उपस्थित २५६ सांसदमध्ये २२९ जनाले ठाकुरको पक्षमा मतदान गरेको जानकारी दिए । उनका विपक्षमा ५ मत खस्यो भने २२ सांसद तटस्थ बसे ।

राप्रपाले एकल प्रतिस्पर्धा गरेको थियो भने एमाले निर्वाचन प्रक्रियामा सहभागी भएन । श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दलहरूको समर्थन पाएकी ठाकुर सहज बहुमतका साथ उपसभामुखमा निर्वाचित भइन् ।

निर्वाचनपछि उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । सभामुख अर्यालले उनलाई शपथ गराएका थिए । कार्यक्रममा उपराष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । शपथपछि ठाकुरले आफूलाई दिएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदलाई समावेशी र जनमुखी बनाउन प्रयास गर्ने बताइन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–मुझेलिया गाउँमा जन्मिएकी रुबीकुमारी सामान्य परिवारबाट राजनीतिमा पुगेकी हुन् । बुबा सोगारथ र आमा रेणुकाका छ सन्तानमध्ये उनी एक हुन् । उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । छ जना छोराछोरीको पालनपोषण्, शिक्षादिक्षा धान्न गाह्रो भएपछि उनका बुबा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । त्यहीँ कमाएको पैसाले परिवारलाई केही भरथेग भइरहेको छ । उनका बुबा मात्र होइन उनकी आमा अहिले पनि अरुको खेत अधिया लिएर अन्न उपार्जन गर्छिन । छोरी सांसद बनेको खबरपछि उनले वैदेशिक रोजगारी छाडेर घर फर्किएका छन् । पारिवारिक पृष्ठभूमिले रुबीको संघर्षलाई झन् अर्थपूर्ण बनाएको छ ।

रुबीले स्थानीय विद्यालयबाट २०७४ सालमा एसइई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट तीनवर्षे इन्जिनियरिङ डिप्लोमा अध्ययन पूरा गरिन् । पढाइपछि उनी एक आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत थिइन् । त्यहाँ उनले भवनको नक्सा बनाउने, टुडी र थ्रिडी डिजाइन गर्ने जस्ता काम गरिन् । मासिक करिब २० हजार रुपैयाँ कमाउँदै उनले भाइबहिनीको पढाइ खर्चसमेत धानेकी थिइन् ।

चुनावी अभियानका क्रममा पार्टी नेतृत्वसँग प्रत्यक्ष भेट भएपछि उनले सक्रिय रूपमा राजनीतिमा लाग्ने निर्णय गरेकी थिइन । त्यसपछि उनी धनुषा क्षेत्रमा प्रचार अभियानमा जुटिन् र मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अभियानमा प्रमुख अनुहारका रूपमा उभिइन् । यसैबीच पार्टीले उनलाई मधेसी जनजाति क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस ग¥यो । अप्रत्याशित रूपमा सांसद बनेकी उनी छोटो समयमै उपसभामुख पदसम्म पुग्न सफल भइन् । सम्भवतः संघीय संसद्को कान्छी नेतृत्वमध्ये एक मानिने उनको उन्नति नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।

राजनीतिमा प्रवेशसँगै उनले मधेस क्षेत्रका सामाजिक समस्यालाई प्राथमिकतामा राखेकी छन् । दाइजो प्रथा, बालविवाह, लैंगिक विभेद र महिला हिंसा अन्त्य गर्न पहल गर्ने उनको भनाइ छ । मधेसमा शिक्षा, रोजगारी र सामाजिक चेतनाको विस्तार आवश्यक रहेको उनी बताउँछिन् । संसदभित्रबाट नीति निर्माणमा सक्रिय भूमिका खेल्दै महिला र पछाडि परेका समुदायको आवाज उठाउने लक्ष्य उनले राखेकी छन् ।

व्यक्तिगत रूपमा उनी अध्ययनलाई पनि निरन्तरता दिन चाहन्छिन् । इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्ने योजना रहेको उनले बताएकी छन् । शिक्षा र राजनीति सँगसँगै अघि बढाउने लक्ष्य बोकेकी २६ वर्षीया रुबी अविवाहित छिन् । घरदैलो अभियानबाट सुरु भएको उनको राजनीतिक यात्रा छोटो समयमै संघीय संसद्को उपसभामुख पदसम्म पुगेको छ, जसले साधारण पृष्ठभूमिबाट पनि नेतृत्व तहमा पुग्न सकिने सम्भावना उजागर गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट