जनमत पार्टीका सतिश सिंह मधेशका मुख्यमन्त्री बन्दै

मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्।
सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउन लागिएको जनमत पार्टीका नेता बिपी साहले बताए।
उनका अनुसार पार्टीले सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजु कुमारी मंडल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको शपथ खुवाउने निर्णय गरेको हो।
१० बजे बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय हुने एक नेताले बताए।
बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच पहिल्यै सहमति भइसकेको छ। नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको हो।
चार दलीय गठबन्धनको सरकारमा मन्त्रालय भागबन्डा गर्ने विषयमा बुधबार अबेर राति नेताहरूबीच छलफल भएको थियो। छलफलमा कुन दलले कुन कुन मन्त्रालय पाउने टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए।
ती नेताका अनुसार बिहीबार दिउँसो फेरि मन्त्रालयको भागबन्डा टुंग्याउन बैठक बस्नेछ। प्रदेश स्तरमा सहमति नभए केन्द्रीय नेतृत्वले नै मन्त्रालयको भागबन्डा टुंगो लगाउने नेताहरूले बताएका छन्।
बुधबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिइएको हो। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन्।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया