Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

भारतले ‘नक्कली जनकपुर’ बनाउन थाल्यो


पुनौराधाममा नौ सय करोडको जानकी मन्दिर परियोजना कार्यान्वयनमा

भारतको बिहार राज्यको सीतामढीस्थित पुनौराधामलाई ‘जानकी जन्मस्थल’को रूपमा स्थापित गर्दै जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई ओझेल पार्ने उद्देश्यले भारत सरकारले नौ सय करोड भारतीय रुपैयाँको बजेटमा भव्य जानकी मन्दिर निर्माणको कार्यान्वयन थालेको छ । धार्मिक भावनालाई राजनीतिक फाइदामा प्रयोग गर्ने रणनीतिअन्तर्गत लोकसभा निर्वाचनलाई लक्षित गरी अघि बढाइएको यो परियोजनाले जनकपुरधामको अस्तित्वमै संकट पैदा गर्ने चिन्ता देखिएको छ ।
लुम्बिनीस्थित गौतमबुद्ध स्थलको नक्कल गरी बनाए झैँ भारत सरकारले नौ लाख रुपैयाँमा तत्कालीन भारतस्थित कलकत्ताकी महारानीले जानकी मन्दिरको संरक्षण तथा सम्बद्र्धन गर्दै प्रचारप्रसार गरिएको थियो । त्यतिबेला सो मन्दिरको निर्माणमा नौ लाख भारतीय रुपैयाँ खर्च लागेको थियो । सो मन्दिर निर्माण भएको एक सय वर्षभन्दा बढी भइसकेको छ ।

सोही अनुरुप अहिले भारत सरकारले नौ सय करोड भारतीय रुपैयाँमा नयाँ जानकी मन्दिर निर्माण परियोजनालाई अघि बढाएको छ ।

भारतको विहार प्रान्तमा छ महिनापछि लोकसभाको निर्वाचन हुँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका थुप्रै राज्यमा उनी आवद्ध भारतीय जनता पार्टीको आधिपत्यता छ । तर, बिहार प्रान्तमा भने उनको मनोकांक्षा पूरा हुन नसक्दा उनले अन्यत्र झैँ बिहार प्रदेशमा पनि हिन्दू धर्मको प्रचारप्रसार रणनीति अपनाउँदै गौतम बुद्ध स्थलको नक्कल विगतमा गरिए झैँ यसपटक पनि उनले जानकी मन्दिर निर्माण परियोजना अघि बढाइएको भारतीय बुद्धिजीवीहरुबीचमा पनि चर्चाको विषय बनेको छ ।

सो परियोजना अन्तर्गत दुई सय एकड जग्गा अधिग्रहणका लागि पुनौराधामस्थित गाउँ नै खाली गराइने छ । सो गाउँमा करिब पाँच सयभन्दा बढी घरधुरी रहेको बताइन्छ ।

पहिलो चरण अन्तर्गत करिब पुनौराधाममा रहेको गाउँ विस्थापित गरिने र सो क्रममा विस्थापित हुनेलाई घरजग्गासहितको भुक्तानी दिइने र अन्यत्र जग्गासमेत दिइने योजना रहेको स्थानीय रामशरण पाण्डेयले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले धर्मलाई आफ्नो राजनीतिक सेक्ने हतियारको रुपमा प्रयोग गर्दै बिहार प्रदेशमा पनि आफ्नो प्रभुत्व जमाउने दाउमा रहेको भन्ने योजना सीतामढीका ई–रिक्सा चालक रहेका स्थानीय राजेश मण्डल बताउँछन् ।

आउने लोकसभा निर्वाचनमा यसको प्रभाव हेर्न मिल्ने उनले बताए । उनले भने, ‘सीतामढीमा माता सीता खेतबाट उत्पति भएको हुनाले यहाँ नै जानकी मन्दिर हुनुपर्ने र विगतदेखि नै यहाँ जानकी मन्दिर पनि रहेको हुनाले यहाँ जानकी मन्दिर निर्माण भएमा स्थानीयवासीलाई धर्मकर्मका लागि अन्यत्र जानै पर्दैन ।’

यहाँको मनोभावलाई बुझेर पनि मोदीले बिहार प्रदेशबाट भारतीय नागरिकको भोटबैंकको रुपमा लिएको हुनसक्ने अनुमान स्थानीय बुद्धिजीवीहरुले गरेका छन् ।

सीतामढीमा पाँच वर्षमा जानकी मन्दिर बनाउने परियोजना छ । सोही अनुसार आउने निर्वाचनमा पनि धार्मिक अस्त्रलाई राम्ररी अध्ययन गरी आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने ध्येय अनुसार अघि बढिरहेको सहजै बुझ्न सकिन्छ ।

यसले जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय पर्यटक रहेको आध्यात्मिक परिवेशमा यसको विकल्पका रुपमा पुनौराधाम विकास परियोजना कार्यान्वयनले पुनौराधामलाई विश्व पर्यटन गन्तव्य स्थल प्रमाणीकरण र भारतीय पर्यटकलाई पुनौराधाममै केन्द्रित गर्ने ध्येय देखिन्छ । पुनौराधाम माता जानकीको प्राकट्य स्थल रहेको मिथक छ । यसलाई प्रमाणीकरण गर्ने खोज एवं पुरातात्विक आधार नभएको अवस्थामा भारत सरकारको यो परियोजनाले भविष्यमा जनकपुरधाम आउने भारतीय पर्यटकको मनोभावलाई परिवर्तन गर्ने र यसको प्रतिकूल प्रभाव जनकपुरधामलाई पर्ने संशय उत्पन्न भएको देखिन्छ ।

भारत सरकारद्वारा पुनौराधामलाई जनकपुरधामको विकल्पका रुपमा प्रवद्र्धन गर्ने परियोजना कार्यान्वयन गरिएको छ ।

जनकपुरधाम बिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधता अन्तर्गत जनकपुरधाम र भारतबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार, तीर्थाटनको प्रवद्र्धन गर्ने रामायण सर्किटको चर्चा परिचर्चा भइरेको बेला पुनौराधाम विकास परियोजना तीर्थाटन सूत्र विपरीत रहेको साधुसन्तहरु बताउँछन् ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुधामको धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौता विपरीत पुनौराधाम विकास परियोजना संस्कृतिको जीवन मार्गलाई कमजोर बनाउने संकेत गरिरहेको डा. भोगेन्द्र झाको भनाइ छ । डा. झाका अनुसार नेपालमा जन्मेका गौतम बुद्धको बारेमा पनि भारत सरकारले विगतमा नक्कली तिलौराकोट निर्माण गरी भ्रम सृजना गरेको हुनाले यसप्रति सजग हुनुपर्ने यथेस्ट आधारहरु रहेका छन् । डा. झाले भने, ‘जनकपुरधामलाई अहिलेसम्म पनि ऐतिहासिक धार्मिक महत्वका रुपमा स्वीकार नगरी मात्र क्रीडास्थलका रुपमा भारतले जिकिर गर्दै आएका कारण उनीहरुको नियत प्रस्ट रहेको हुनाले यसको दोषी यहाँका मठाधीश र नेताहरु रहेको छन् ।’ उनले अघि थप्दैँ भने, ‘सुगौली सन्धी अघिसम्म पुनौराधाम नेपालकै भूमि हो । तथापि जनकपुरधामवासीहरुले आफ्नो धार्मिक पुरातात्विक तथा पौराणिक महत्वको संरक्षण संवद्र्धन नगरेका कारण यहाँको अस्तित्व संकटमा परेको छ । यहाँको मानिसहरु पनि मौन छन् ।’

भारतीय सरकार पुनौराधामलाई तिरुपति मन्दिर जस्तो बनाउने लक्ष्यसहित पाँच सय एकड जग्गा अधिग्रहण, अयोध्या–सीतामढी रेल विस्तार योजना कार्यान्वयनतर्फ अग्रसर छ जसको उद्देश्य मिथिलाको संस्कृति तथा धरोहरलाई संरक्षण, प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । साधुसन्तको खोजी भइ प्राप्त जनकपुरधामको श्रेय चतुर्भुज गिरी र सूरकिशोर दासलाई मानिन्छ ।

यिनीहरु आएको समयलाई सत्रौँ शताब्दीको अन्ततिरको समय मानिछ । अतीतको गौरवगाथा बोकेको मिथिला, जनकपुरधाम अति प्राचीन रहेको छ । यसको प्राचीनता उजागर गर्ने स्रोतहरुमा वेद, उपनिषद् लगायतका ग्रन्थहरु भएको अवस्थामा जनकपुरधामको गौरवगाथा, दुई महान संस्कृतिको मिलन स्थलको अस्तित्वलाई औचित्यहीन गर्ने ध्येय समृद्ध सांस्कृतिक विविधतामाथि नै शंकाको मार्ग प्रशस्त गरिरहेको छ ।

भारत सरकारले पुनौराधामलाई भगवान राम र सीताको जीवनसँग परिभाषित गरी पर्यटकको ध्यान केन्द्रित गर्ने अभियान सञ्चालन गर्नेतर्फ प्रयास गरिरहेको बेलामा पनि जनकपुरधामका जानकी मन्दिर महन्त रामतपेश्वर दास, उत्तराधिकारी रामरोशन दासलगायतका साधुसन्त एवं कतिपय स्रष्टा, कलाकारले पुनौराधामलाई नै जानकी जन्म स्थल भनि अभिव्यक्ति, भक्तिभाव प्रदर्शनले आगामी दिनमा जनकपुरधाममा भारतीय पर्यटकको ओइरोमा प्रतिकूल प्रभाव पर्ने यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य संघ मधेश प्रदेश उपाध्यक्ष जितेन्द्र महासेठले पुनौराधाममा निर्माण गरिने मन्दिरले जनकपुरधाममा प्रतिकुल असर पर्न नदिनका लागि यहाँका सचेत नागरिकले व्यापकरुपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले पुनौराधाममा जानकी जन्मभूमि सिद्धका लागि विभिन्न परियोजना कार्यान्वयनबाट जनकपुरधामलाई कुनै पनि प्रभाव नपर्ने दाबी गरेका छन् ।

जानकी र रामबाट जोडिएका जन्मस्थलदेखि वैवाहिक पौराणिक ऐतिहासिक स्थलहरु धनुषाको विभिन्न ठाउँमा छरिएर रहेकाले भारतीय पर्यटकहरुलाई जनकपुरधाम आउनै पर्नेमा उनी ढुक्क छन् । जनक सत्य हो भने जनकपुरधाम पनि सत्य हो, जनकपुरधाम शब्दले राजर्षि जनकको निवास स्थललाई नै बोध गराउँछ, तर वर्तमानको जनकपुरधाम राजर्षि जनकको निवास स्थल हो कि अन्य स्थानमा छ, त्यसको खोज हुनु आवश्यक छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पुनौराधामलाई भारत सरकारले विकास गरेमा आउने दिनमा जनकपुरधामको पर्यटकको आवागमनमा समेत नकारात्मक असरसँगै व्यवसायमा प्रत्यक्ष असर पर्ने टिप्पणी गरे ।

पुनौराधामका एक पुजारीले यहाँ जानकी मन्दिर निर्माण भएसंगै यहाँको विकासले तीव्रता पाउने छ भने यहाँका स्थानीयले रोजगारीसमेत पाउने उनको बुझाइ छ ।

पुजारी जगदालु दासले सीता माताको जन्मस्थली पुनौराधाम रहे पनि यहाँका नेताहरुले वास्ता नगर्दा सीतामढी अहिलेसम्म पछि परेको बताए ।

उनले लोकसभा निर्वाचन अघिसम्ममा यहाँबाट वस्ती अधिग्रहण गरिसक्ने योजना रहेको छ भने निर्वाचनपछि जानकी मन्दिरको निर्माण कार्य शुरु गरिने जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट