‘पूर्वी रुकुमको टाकुराबाट मेलगैरीलाई खुल्ला पत्र’
प्रिय मेलगैरी,
आज म पूर्वी रुकुमको त्यो धवल टाकुरामा उभिएको छु, जहाँको हावाले अझै पनि ‘बलिदानु को सुगन्ध र बारुदको राप बोकेर हिँड्छ। यहाँका हरेक उकाली(ओरालीमा जनयुद्धका ती थकित तर दृढ पाइलाका डोबहरू अझै जीवित छन्। यहाँका खोल्साखोल्सीमा सहिदका ती सपनाहरू कलकल बगिरहेछन्, जो अझै मुक्तिको महासागरसम्म पुग्न प्रतीक्षारत छन्।
के तिमीलाई याद छ ? त्यो गर्वीलो यात्रामा हामी अविभाज्य थियौँ। चौरजहारीको रातो माटोदेखि हुकाम-मैकोटको कठीन उकालोसम्मस चुनवाङको ऐतिहासिक गाउँ देखि खदी-गोतामका साँघुरा गोरेटोसम्म। भेरीको सुसाइ र सिस्ने-पुथाको हिउँलाई साक्षी राखेर हामीले एउटै लक्ष्य र एउटै मृत्यु रोज्ने कसम खाएका थियौँ।
आज मानसपटलमा एउटा चलचित्र झैँ नाचिरहेछन् – गलम्पाटीको त्यो रातको उकालो, प्यारो हिल गाउँ, रुँधाको बल्लेजुरा र पिपलका ती छहारीहरू। लम्पाकोटको त्यो हेडक्वाटर, वर्षाको झरीमा उर्लिएको खोलागाउँ खोला, पेउद्या र नुवाकोट डाँडाको कुहिरो, महत, क्याडसी र गरायलाका ती वस्तीहरू। मौराखाराका जङ्गलदेखि मुरुका झुप्राहरूसम्म। ती केवल विगतका पाना होइनन्, हाम्रा जीवनका रक्ताम्मे दस्ताबेज हुन्। पुतिमकाँडाको जङ्गल, चुनवाङका तीन बहिनी, सल्यान, जाजरकोट र राप्तीका ती कठोर ुप्रतिरोधु का वर्षहरू हाम्रा नसा-नसामा अझै ताजा छन्।
प्रिय मेलगैरी ,
आज संघीयताको प्रशासनिक पर्खालले भूगोल त कोर्यो, तर के यसले हाम्रो ‘वर्गीय संवेदना’को मुटुमा पनि साँध लगाएकै हो त ?
मार्क्सले भनेका थिए- “मानिसले इतिहास त बनाउँछन्, तर आफूले चाहेजस्तो परिस्थितिमा होइन।” आज रुकुम जुन दोसाँधमा उभिएको छ, त्यो केवल विकासको शून्यता होइन, बरु सपनाहरूको चिहानमाथि उभिएको एउटा ‘अधुरो क्रान्ति’को मलिन ऐना हो।
रुकुम केवल एउटा भूगोल होइन, यो त एउटा ‘विचारको विष्फोट’हो। जहाँ दौलतराम घर्ती , हस्त , मस्त विष्ट , परम्परा र सूर्य प्रकाशहरु , सान्त , पूर्ण प्रकाश र भर घर्ति हरूले व्यक्तिगत भविष्यलाई तिलाञ्जली दिएर वलिदान रोजे। जहाँ यज्ञश्वर, विरेश्वर र कविराम केसीहरूले आफ्नै रगतले नयाँ युगको मानचित्र कोरे। तर आज, त्यही पवित्र माटो नेतृत्वको पलायन र वैचारिक स्खलनले मर्माहत छ। काठमाडौँका महलहरूमा जब संविधानको उत्सव मनाइन्छ, मलाई रुकुमका भित्ताहरूमा यो संविधान ‘घाइते’ देखिन्छ। किनकि यसले न सहिद परिवारको आँसु पुछ्न सक्यो, न त खाराका ती डढेका वस्तीहरूको आलो घाउमा मलम नै लगाउन सक्यो। उत्पादनका साधन अझै पनि ‘दलाल पूँजी’कै सन्दुकमा कैद छन्, र हाम्रा गौरवशाली युवाहरू संघीयतापछि झन् ठूलो लर्को लागेर खाडीको तातो बालुवामा आफ्नो आयु साट्न विवश छन्।
अहिले फेरि फागुनको चर्चा छ, चुनावको रन्को छ। तर लेनिनले भनेझैँ- यो त सत्तामा कसको वर्चस्व रहने भन्ने देखाउने एउटा ‘आवरण’ मात्रै त हो नि ! रुकुमका बस्तीहरूले आज सशंकित मुद्रामा सोधिरहेछन् ‘यो सत्ता सहिदको हो कि तिनै दलालहरूको, जसको विरुद्ध हामीले बन्दुक उठाएका थियौँ ?’
आज ‘नयाँ’ भनिएका शक्तिहरू सुशासनको जलप लगाएर झुल्केका छन्। तिनीहरू भ्रष्टाचारको कुरा त गर्छन्, तर रुकुमको किसान किन सधैँ नङ्ग्रा खियाउँदा पनि रित्तो छ भन्ने ‘वर्गीय प्रश्न’बाट तर्सिन्छन्। तिनीहरूको शब्दकोशमा न भूमि छ, न श्रम, न त उत्पादनको स्वामित्व। मार्क्सको त्यो अटल दृष्टिकोण सम्झ त- “राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो।” यदि राजनीतिले रुकुमको श्रम र पसिनालाई छुँदैन भने, त्यो केवल काठमाडौँको एउटा नयाँ रङको भ्रम मात्र हो।
आफ्नै आन्दोलनभित्रको यो विभाजन, यो संशय र यो पलायन देख्दा मन भारी भएर आउँछ। जिल्लाले आशा गरेको नेतृत्वको बहिर्गमन केवल एउटा प्राविधिक निर्णय होइन, यो त जनयुद्धको स्मृति र त्यागमाथि गरिएको एउटा निर्मम प्रहार हो।
मेलगैरी,
प्रश्न व्यक्तिको होइन, प्रश्न त दृष्टिकोणको हो। हाम्रो यात्रा सर्वहाराको मुक्तितर्फ हो कि एउटा सुरक्षित जीवतको भविष्यतर्फ ? माओले भनेका थिए- “क्रान्ति कुनै प्रीतिभोज होइन, यो त एउटा वर्गले अर्को वर्गलाई उल्ट्याउने हिंस्रक कार्य हो।” जब क्रान्तिको बाटो कठीन हुन्छ, तब अवसरवादीहरू ओत खोज्दै पलायन हुन्छन् र वीरहरू आँधीसँग जुध्न मैदानमै उभिन्छन्।
सहिद कविरामकी आमाको त्यो पीडा र खवरदारी , दौलतरामका भाइको त्यो आँसु र आक्रोश- यी केवल भावना होइनन्, यी त इतिहासले सोधेका संगीन प्रश्न हुन्। खाराको माटो र कामी बुढाको रगतले सिञ्चित यो धर्तीले सोध्दैछ- ‘तिमीहरू अझै हाम्रै पक्षमा छौ कि अर्कै भइसक्यौ ?’
प्रिय मेलगैरी,
यो पत्र कुनै गुनासो वा आरोप होइन, यो त एउटा ऐना हो। जहाँ हामीले आफ्नो अनुहार र आफ्नो निष्ठा हेर्नुपर्नेछ। भूगोल र जिम्मेवारीहरू बदलिएलान्, तर यदि हाम्रो राजनीति किसान र मजदुरको झुपडीसम्म पुग्दैन भने, त्यो राजनीतिमा रुकुमको माटोको सुगन्ध आउँदैन। इतिहास अझै सकिएको छैन, संघर्षको रूप मात्र फेरिएको हो। मार्क्सको त्यो अमर वाणी फेरि दोहोर्याउन चाहन्छु- “दार्शनिकहरूले संसारलाई व्याख्या त गरे, तर मूल प्रश्न त यसलाई बदल्ने हो।”
रुकुम अझै त्यो पूर्ण परिवर्तनको महाप्रतीक्षामा छ। हामी त्यो परिवर्तनको मोर्चामा दृढतापूर्वक उभिन्छौँ कि सुविधाजनक मौनताको ओत लाग्छौँ ? छनोट अझै हाम्रै हातमा छ। अविभावक विहिन त रुकुम युद्धको पेचीलो अवस्थामा पनि थियो । तर हामीले चुनौतीको सामना गरेर इतिहासको रक्षा गरेका थियौं ।
क्रान्तिकारी अभिवादनसहित,
तिम्रो हिजोको सहयात्री
(२०८२ पुष २३ गते)
क्याटेगोरी : बिचार, साहित्य



















प्रतिक्रिया