भोलि देशभर ‘सिभिल डिफेन्स’ पूर्वाभ्यास गर्न भारत सरकारको निर्देशन

भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई भोलि ‘सिभिल डिफेन्स’ पूर्वाभ्यास अर्थात् ‘मक ड्रिल’ गर्न निर्देशन दिएको छ । पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीचमा यसलाई धेरै महत्त्वपूर्ण मानिएको बीबीसी हिन्दीले जनाएको छ ।
गृह मन्त्रालयको जनरल फायर सर्भिस, सिभिल डिफेन्स एन्ड होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयका तर्फबाट २४४ सूचीबद्ध जिल्लामा ‘सिभिल डिफेन्स’ को अभ्यास र पूर्वाभ्यास गर्न निर्देशन दिइएको खबरमा उल्लेख छ ।
‘सिभिल डिफेन्स’ को कानून अनुसार गृह मन्त्रालयसँग राज्यहरूलाई यस प्रकारको पूर्वाभ्यासको निर्देशन दिने अधिकार रहन्छ । पूर्वाभ्यासमा कुनै आपत्कालीन स्थितिमा मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने जाँच्न खोजिन्छ । आमरूपमा कुनै हमला, घटना या आगजनीजस्तो आपत्कालीन स्थितिका लागि कस्तो तयारी छ भन्ने जान्नका लागि पूर्वाभ्यास गरिन्छ ।
भोलिको पूर्वाभ्यास शहरदेखि ग्रामीण स्तरसम्म हुनेछ । यस्तै पूर्वाभ्यासमा हवाई हमलाको चेतावनी कति प्रभावकारी छ भन्ने जान्ने, ‘कन्ट्रोल रूम’ को कामकाज कस्तो छ हेर्ने र आमसर्वसाधारण तथा युवाहरूलाई हमलाका दौरान गर्नुपर्ने कामको तालिम दिने कुरा पनि समावेश छ । पूर्वाभ्यासमा यदि बिजुली पूर्णरूपमा बन्द भयो भने त्यो स्थितिमा के उपाय गर्न सकिन्छ भन्ने पनि हेर्ने जाँचिन्छ ।
२६ जनाको ज्यान जाने गरी भएको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै चिसिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया