Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

कृष्ण सेन इच्छुक विचार र आदर्शका अमर प्रेरणा : दाहाल


चेतनाथ धमला

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साहित्य ,कला तथा संस्कृति विभाग प्रमुख महेश्वर दाहालले उहाँसँग काम गर्ने अवसर पाएका कारणले पनि उहाँको व्यक्तित्व, विचार र नेतृत्व शैली मेरो स्मृतिमा अझै गहिरो रुपमा बसेको बताए ।

‘कृष्ण सेन भन्ने वित्तिकै एक जना क्रान्तिकारी कवि, एक जना समर्पित पत्रकारको रुपमा सम्झना आउँछ’ भन्दै दाहालले ‘साँच्चै भन्नुपर्दा जनताको पक्षमा कलम चलाउने साहसी योद्धा, नाम भन्दा पनि विचार भएको’ बताए ।

महान् सांस्कृतिक सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजना पेरिसडाँडामा गरिएको थियो । प्रमुख अतिथि दाहाल लगायतले एक मिनेट सहिद प्रति मौन धारण गर्दै इच्छुकको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रमको प्रारम्भ गरिएको हो । दाहालले ‘कृष्ण सेनको बाँच्ने विकल्प हुँदाहँदै आफ्नो आदर्शका निम्ति मृत्युवरण गरेको यति चहकिलो उदाहरण विगत पाँच दशकको कम्युनिष्ट आन्दोलनको शक्तिशाली प्ररणापुञ्ज रहेको’ उल्लेख गरे ।

कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा भाषा आयोगका सदस्य मातृका पोखरेलले इच्छुकको वैचारिक प्रतिबद्धता र कवि व्यक्तित्वको चित्रण गरे ।

कार्यक्रममा इच्छुकद्वारा रचित प्रसिद्ध कविता ‘प्रतिबन्ध’ लाई जनवादी कलाकार झङ्कार बुढा, एलिना , विश्व दोङ, दीपक राई, पुजा श्रेष्ठ, सुशील सिंह ठकुरी र धनु ग्याङ्मीले सामूहिक रूपमा गाएका थिए ।

यसैगरी कविहरू प्रगतिवादी कविहरू चेतनाथ धमला, बम बानिया, मिथोच र उत्तम लिम्बूले कृष्ण सेन इच्छुक रचित कविता वाचन गरेका थिए ।

जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको समापनका क्रममा महान् सांस्कृतिक सहिद इच्छुकको क्रान्तिकारी चिन्तन ,साहित्यिक व्यक्तित्व,आदर्श र प्रेरणा भावी पुस्तासम्म पुर्याउने गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिए । उद्घोषण गर्दै महासङ्घका महासचिव केशव सिलवालले इच्छुक निरङ्कुशता विरुद्धका योद्धा कवि तथा पत्रकार रहेको बताए । जनदिशा दैनिकको प्रधान सम्पादक भएका बखत तत्कालीन राज्यसत्ताको निर्देशनमा प्रहरीले पक्राउ गरी कृष्ण सेनलाई २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमै चरम यातना दिएर हत्या गरेको थियो ।  इच्छुकका शोकाञ्जली, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरी जस्ता काव्यकृति प्रकाशित रहेका छन् । कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतका पत्रपत्रिकामा सम्पादक रहेका उनले साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९), प्रगतिशील साहित्य पुरस्कार (२०६१), मरणोपरान्त र प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त प्राप्त गरेका हुन ।

यसैगरी दाङ कारागार, भद्र बन्दीगृह, सिरहा र राजविराजमा पटकपटक जेलजीवन बिताएका इच्छुकको शहादतपछि पनि कृष्ण सेन इच्छुकु स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १, २ र ३, कवि इच्छुक कविताका सन्दर्भमा आस्था र निष्ठाका सतिसाल इच्छुक जस्ता कृति प्रकाशित भएका छन् । खासमा इच्छुक क्रान्तिकारी काव्यधाराका प्रतिनिधि तथा युगीन कवि हुन् ।

आज सेनको स्मृतिमा देशैभरि विभिन्न कार्यक्रम गरी मनाइयो ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट