धनुषामा मन्दिर परिसरमा मृत भेटिएका व्यक्ति पुजारी नभएको प्रहरीको स्पष्टिकरण
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति करिब ९ बजे मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार मृतक मन्दिरका पुजारी नभई घुमीहिँड्ने तथा बाहिर कामकाज गरी बेलाबेला मन्दिर परिसरमा आएर सुत्ने व्यक्ति थिए।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटना विशुद्ध आपराधिक प्रकृतिका व्यक्तिबाट भएको देखिएको प्रहरीको भनाइ छ।
यसैकारण घटनालाई कुनै पनि धार्मिक विवादसँग नजोड्न तथा शान्ति, सामाजिक सद्भाव र आपसी सहिष्णुता कायम राख्न प्रहरीले सबै नागरिकसँग अपिल गरेको छ।
प्रहरीले घटनामा संलग्न जो–सुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया