Techie IT
Samayabaddha
शुक्रबार, १५ साउन, २०८३

धार्मिक अगुवाहरूले भने– सामाजिक सद्‌भाव बिथोल्ने कार्यमा संलग्न नहोऔँ


काठमाडौँ । हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूले सबै नागरिक संयम रहन, उत्तेजना, घृणात्मक र सामाजिक सद्‌भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन् ।

विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासङ्घ नेपालका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजना, घृणात्मक वा सामाजिक सद्‌भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ’, धार्मिक अगुवाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सबै धर्मको भाव मानवकल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पछिल्ला दिनमा सुनसरी र सिराहा घटनप्रति दुःख व्यक्त गर्दै उनीहरुले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्‌भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार जोगाउनुपर्ने बताएका छन् ।

‘कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ’, अपिलमा भनिएको छ ।

सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनीहरुले सरकारसँग अनुरोध गरेका छन् ।

सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्‌भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापहरू प्रति सचेत रहन अपिल गर्दै उनीहरुले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्‌भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अपिल गरेका छन् ।

‘हामी सबै नेपालीलाई शान्ति, सद्‌भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न हार्दिक आह्वान समेत गर्दछौँ’, अपिलमा भनिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट