Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

जेनजी कि झिन्जी ?


काठमाडौं । जेनजी भनेको त तपाईंले थाहा पाइहाल्नुभो, १२ देखि २८ वर्षसम्मका युवा पुस्ता । तिनको अगुवाईमा डेढ महिना अगाडि भएको प्रदर्शन भनौं वा विद्रोह भनौं वा क्रान्ति भनौं– त्यसले साविक संसदको विघटन र कांग्रेससहितको ओली सत्तालाई विस्थापित गरिसकेको पनि तपाईंलाई थाहै छ । भलै, त्यससँग जोडिएका भूराजनीतिक स्वार्थ वा त्यसपछि स्थापित गर्न खोजिएका ‘कन्स्पिरेसी’हरूलाई एकछिन बिर्सिदिऔं ।

यो झिन्जी भनेको चाहिँ के हो ? भन्ने तपाईंलाई लाग्ला । तामाङ भाषामा झिन्जी भनेको सकियो भनेको हो । हो, जुन उद्देश्यले जेनजी प्रदर्शन, विद्रोह वा क्रान्ति भएको थियो, त्यो उद्देश्य समाप्ति नजिक पुगिसकेको त छैन ? भन्ने धेरै आधार अहिले नै बन्न थालिसकेका छन् ।

तत्कालमा सामाजिक मिडिया बन्दविरुद्ध खडा भएका जेनजीका मुल माग थिए– सुशासन र भ्रष्टाचार नियन्त्रण । ती मागलाई ‘म्यासेकर’ शैलीमा दबाउन खोजेकैले ओली सरकार विस्थापित भैसकेको छ । साविक संसद रहँदा फेरि पुरानै चरित्र र समीकरणबाट सत्ताको खेल खेलिन सक्छ भनेरै संसद पनि विघटन गरियो, मानौं ।

त्यसैले पार्टीहरूको अर्थात एमाले–कांग्रेससहितको ओली सरकारको ठाउँमा नागरिकको अर्थात सुशीला कार्की नेतृत्वको सरकार आयो । र, उक्त सरकारले ६ महिनामा अर्थात फागुन २१ गते आम चुनाव गर्ने म्याण्डेट पायो ।

त्यसअर्थमा सुशीला नेतृत्वको नागरिक सरकारको मुल काम सुरक्षा व्यवस्था मजबुत बनाएर निर्धारित मितिमै चुनाव गर्नु हो । चुनावपछि कस्तो शासन ? भन्ने सन्दर्भ भने चुनावमा भोट हाल्ने आमबृत्तकै मर्जी ।

चुनावपछि कस्तो शासन ? त्यसमा एकछिनपछि आउँला । एकछिन अहिलेको शासन कस्तो ? भन्नेतिरै सोचौं ।

७६ जनाको बलिदानपछि बनेको सुशीला सरकारको मुल प्राथमिकता त आम चुनाव हुँदै हो । सँगै जेनजी प्रदर्शनमा ‘म्यासेकर’ गर्ने तत्कालीन सत्ता र त्यसका संयन्त्र अनि राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी तथा डकैती गर्ने अपराधीको पहिचान तथा कार्वाही पनि हो । सहिद एवम तिनका परिवारलाई सम्बोधन गर्ने, घाइतेको उपचार र पुनस्र्थापना गर्ने, पुनर्निर्माण स्रोतको विश्वासिलो आधार बनाउने साथै चुनावबीचका नियमित कानुनी, वितरण, सेवा जस्ता दैनिक प्रशासनिक कार्यलाई छिटो, चुस्त, गुनासो रहित एवं भ्रष्टाचाररहित संचालन गर्नु त छँदै छ ।

तर डेडमहिनाको संकेतले सुशीला सरकार यी प्राथमिकताबाट बहकिएको देखिंदैछ । राजदुत फिर्ता गर्ने निर्णयदेखि सरुवा, बढुवा, आर्थिक मनोमानी तथा पुरानै तरीकाको शक्ति अभ्यासतिरै सरकारको ध्यान खिचिएको देखिंदैछ । जेनजीको असली उद्देश्य विपरीत जेनजी नामका असरल्ल झुन्डहरूले सार्ने र सारेका अन्टसन्ट कुरा सुन्दा मन्त्री बनाइएका र मन्त्रीका लागि छनौट गरिएका मानिसहरू नै विवादै विवादको घेरामा पर्न थालेका छन् । सरकारलाई प्राथमिकता सम्झाउने खबरदारी गर्न ढिलो भैसकेको छ ।

चुनावपछि कस्तो शासन ? भन्ने सन्दर्भलाई भने सुशासन र भ्रष्टाचार नियन्त्रणको जेनजी उद्देश्यसँग जोडेर हेर्नुपर्ने हुन्छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप राज्यका सम्पुर्ण तहको रुपान्तरण हुन जरुरी छ । शासकीय स्वरुपदेखि राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र कर्मचारी संयन्त्र अनि ‘पब्लिक तथा प्राइभेट’ क्षेत्रसम्मको रुपान्तरण नगरी टालटुले सुधारले अब देश अगाडि बढ्नै सक्दैन ।

तर ‘हामीले अति गरेछौं, अब जेनजीको मर्म अनुसार आमुल सुधारसहित अगाडि बढ्छौं’ भन्ने चेत दलहरूमा आउनै सकेको छैन । बरु आन्दोलनताका दबेजस्तो देखिएको तिनको स्वर झनपछि झन चर्काे हुँदै गएको छ । मुखले जेनजीको भावना कदर गर्छाैं भन्ने, व्यवहारले आफैं अकन्टक नेतृत्व भैराख्ने रबैया फैलदो छ । सहकार्यका नाममा होस्, एकताका नाममा होस् वा अधिवेशनका नाममा होस्, आफैं नेतृत्व भइराख्ने सोच सबै पार्टीतिर छ । तर त्यहाँ त्यसविरुद्ध चरम अन्तर्संघर्ष पनि छ । त्यही अन्तर्संघर्षको बलबाट हो, जेनजीको उद्देश्य साकार हुने ।

त्यसैले अग्रगमन एवम् लोकतन्त्र आधारित सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिको प्राथमिकताले नै चुनाबपछिको सरकारले गति तथा स्थिरता पाउने छ । र, त्यसको खबरदारीकर्ता अहिलेका लागि जेनजीहरू नै हुनुपर्छ । तर आफ्ना उद्देश्यलाई हाइज्याक गरेर तर मार्ने आफैंभित्रको प्रवृत्तिलाई समेत जेनजीले चिन्न सक्नुपर्छ । नत्र जेनजी उद्देश्य झिन्जीको डिलमा पुग्नै लागिसक्यो है !


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट