Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

जेन्जी छोरीलाई — नेतृत्व, चेतना र आशाको पत्र


प्रिय छोरी,
तिमी अहिले उच्च शिक्षाको यात्रामा छौ (ज्ञान खोज्दै, सोच परिपक्व बनाउँदै, र संसार बुझ्दैछेउ । तर म बुझ्छु, तिम्रो मनमा एउटा गहिरो असन्तोष पनि छ — समाजको अन्याय, राजनीतिको दोहरो चाल, र भविष्यको अनिश्चितताप्रति ।
तिमी प्रश्न गर्छाै, –“यो देश किन बारम्बार संकटमा पर्छ ? किन नेताहरू सधैं आफुलाई जनता भन्दा माथि ठान्छन् ?”

यी प्रश्नहरू केवल असन्तुष्ट युवतीका होइनन — वस्तुतः यिनै प्रश्नहरूले इतिहासमा परिवर्तन ल्याएका छन् ।

छोरी,
राजनीति कुनै पद वा शक्ति कब्जा गर्ने माध्यम होइन । यो त सार्वजनिक जिम्मेवारीको उच्चतम अभ्यास हो । जहाँ विचार, आचरण र जनताको भरोसा समाहित हुन्छन् ।

नेतृत्व टिका लगाएर दिइने कुरा होइन, न त अन्तर्राष्ट्रिय संस्थाले दिएको तालिमको परिणाम । संसारका असली नेताहरू उमेर होइन, सोचका कारण नेता बनेकाछन् । । नेतृत्व उसैको हातमा पुग्छ जसले आन्दोलनको आवश्यकता महसुस गर्छ, जनताको पीडा सुन्छ र त्यसका लागि आफ्नै जीवनलाई समर्पित गर्छ । संकटको घडीमा सबैभन्दा अग्र भागमा आफुलाई उभ्याउँछ र समाधानको बाटो पहिल्याउँछ ।

तिमीलाई थाहा छ ? महात्मा गान्धीले ६० वर्षपछि ‘सत्याग्रह’को बीउ रोपे, नेल्सन मण्डेलाले २७ वर्ष जेलमा बिताएर पनि क्षमाको बाटो रोजे उहाँको नेतृत्व संघर्ष, सहिष्णुता र दीर्घ दृष्टिको संयोजन थियो । जसिन्दा अर्डर्न (न्युजिल्याण्ड) ले ३० वर्षमै संकटमा (क्राइस्टचर्च हमला, कोभिड) भावनात्मक संवेदना र नीति संयोजनसहित नेतृत्वको नयाँ नमूना पेस गरिन् । ली क्वान यू (सिङ्गापुर)ले कुनै क्रान्तिकारी नारा होइन, व्यवहारिक सुधार, नीति र अनुशासनद्वारा देश उकासे । माओत्सेतुङ (चीन) ले विचार र संगठनात्मक शक्ति दुवैको संयोजनले क्रान्तिलाई सम्पन्न गरे । मार्टिन लुथर किङ जूनियर (अमेरिका)ले अहिंसात्मक आन्दोलनद्वारा जातीय समानताको अभियानमार्फत नेतृत्व तब स्थायी हुन्छ जब त्यसले “भयभन्दा आशा” प्रदान गर्छ भन्ने सन्देश दिए ।
यी उदाहरणहरूले के सिकाउँछन् भने नेतृत्व उमेरले होइन, दृष्टिकोणले बन्छ । बुढो भएर पनि अग्रगामी हुन सकिन्छ, युवा भएर पनि प्रतिगामी हुन सकिन्छ । मुख्य कुरा त यो हो की (तिम्रो साेंचले समाजलाई अघि बढाउँछकी बढाउदैन ? तिम्रो जीवनशैलीले नैतिकता र इमानदारीको सन्देश दिन्छ की व्ययमानी र अनैतिकताको ?

देशमा अहिले जेन्जी पुस्ताको आवाज गुञ्जिएको छ । तिमी पनि यही पुस्ताकी सदस्य हौ — सोच्ने, प्रश्न गर्ने र चुनौती दिने । तर सम्झ, विद्रोह सुरु गर्न सजिलो हुन्छ तर त्यसलाई रूपान्तरण गर्न दृढता, अध्ययन र धैर्यता चाहिन्छ । तिमीले हातमा कलम समातिरहेकी छ्यौ, यही कलम भविष्यको नीति बन्न सक्छ । यदि त्यसमा अध्ययनको गहिराई, समाजप्रति संवेदना र चरित्रको शुद्धता मिसिएको छ भने ?

नेतृत्वको अर्थ अरूको कमजोरी देखाउने मात्र होइन, आफ्ना कमजोरी सच्याउने हो । शक्ति खोज्ने होइन, जिम्मेवारी लिनु हो । नारा मात्र फ्याँक्ने होइन, समाधान निर्माण गर्ने हो । राजनीति प्रदूषित देखिन्छ, तर राजनीति नै समाधानको बाटो पनि हो । यो देशलाई नैतिक, शिक्षित र सहानुभूतिको राजनीति चाहिएको छ । त्यसको बीउ तिमीले रोप्न सक्छ्यौ । अध्ययन र चेतना तिम्रो हतियार हो । ज्ञानले तिमीलाई स्वतन्त्र बनाउँछ, जुनसुकै दबाबमा पनि झुक्न दिंदैन । तेसैले भावनाभन्दा बढी तर्कलाई मार्गदर्शक बनाऊ । किनकी आवेगले आन्दोलन सुरु गर्छ, तर विवेकले परिवर्तनलाई स्थायी बनाउँछ । जीवनशैलीलाई पनि विचारको भाग बनाऊ ।

जसरी तिमी बोल्छ्यौ, त्यसरी नै बाँच । त्यो नै विश्वासको नेतृत्व हो । अर्काको पीडा महसुस गर्न सक्ने बन्छ्यौ भने, नेता बन्ने बाटो खुल्छ । दुःखी गरिव र असहायप्रति, संकटमा भएका प्रतिको सहानुभूति, नेतृत्वको पहिलो सीढी हो । तिमीहरू जस्ता चेतनशील, शिक्षित, संवेदनशील जेन्जीहरू नै नेपालको नयाँ बिहान हौ । तर सम्झ – तिमी नेता बन्ने होइन, योग्य बन्ने कोसिस गर ।

योग्यता, इमानदारी र संवेदना आफैंले तिमीलाई नेतृत्वमा पु¥याउनेछ । कुनै विषयमा औपचारिक योग्यता हासिल गर्दैमा ठूलो भइदैन । क्षमता आर्जन गर्ने चिज हो तर राष्ट्र, समाज , परिवार र स्वयं आफैप्रति प्रतिवद्ध र इमान्दार हुनु ठुलो कुरा हो । देशलाई परिवर्तन चाहिएको छ, तर त्यसको पहिलो कदम तिमीभित्रको परिवर्तन हो । त्यसैले निराश नबन्नु, पढिराख, सोचिराख, र आफ्ना आदर्शहरूमा अडिग बन । किनकी तिम्रो सफलता र जिम्मेवारीवोधमा तिम्रो मम्मी र बावाको अधुरो सपना लुकेको छ । अध्यनसंगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर । कुनै दिन इतिहासले लेख्नेछ– “त्यो पुस्ता जसले भावनालाई नीति र सपनालाई योजनामा रूपान्तरण ग¥यो ।”
स्नेह साहित
तिम्रो बाबा
(२०८२ असोज २७ गते)


क्याटेगोरी : बिचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट