बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परिवारको त्रिकोणात्मक समीकरणले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माणको तयारी
घोषित मितिमा निर्वाचन भयो भने अबका साँढे ३ महिनामा नेपालको कानुन निर्माण गर्ने थलोमा कुन कुन पार्टीको प्रवेश होला आजै भन्न सक्ने अवस्था छैन । मुुलुकमा निर्वाचनको माहौल सिर्जना हुन सकेको छैन । तर राजनीतिक मैदानमा दिनदिनै विभिन्न घटनाहरु तीव्र गतिले अगाडि बढिरहेका छन् । त्यसैको फलस्वरुप आज मंसिर ७ गते बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परिवार सम्बद्ध विभिन्न दल र समूह मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गर्ने तयारी गरिएको छ ।
उनीहरुकै दाबि अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालको वैकल्पिक राजनीतिक अभ्यासमा एउटा महत्वपूर्ण शक्तिका रुपमा उदाउँदैछ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएका सन्तोष परियार मिलेर निर्माण भएको यो नयाँ पार्टी औपचारिक रूपमा आइतबार काठमाडौंमा घोषणा हुँदैछ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुने एकता घोषणाले लामो समयदेखि चलिरहेको समन्वय, वैचारिक बहस र नेतृत्वबारेको द्विविधालाई अन्त्य गरिंदैछ । यसअघिका साना–ठूला राजनीतिक प्रयोग गर्दै सफलता र असफलताका श्रृखंलाहरु भोगेका नेतृत्वहरू फेरि जुटेर वैकल्पिक मार्ग निर्माण गर्ने प्रयासमा उभिनुले नेपालको राजनीतिक खेल मैदानमा नयाँ पार्टीको इन्ट्री भएको छ ।
एकता घोषणा कार्यक्रमभन्दा एक दिनअघि काठमाडौंमा बसेको आन्तरिक छलफलमा नेतृत्व संरचना, कार्यदिशा, वैचारिक आधार र संगठनात्मक मोडलबारे विस्तृत बहस भएको छ । त्यही छलफलको आधारमा पार्टीको नेतृत्व सामूहिक, समावेशी र आलोपालो सञ्चालन हुने निष्कर्ष निकालिएको छ । सुदन किराँतीका अनुसार पार्टीको अध्यक्ष मण्डल ५–६ जनाको हुनेछ, जहाँ क्लस्टर–आधारित प्रतिनिधित्वको सिद्धान्त अपनाइनेछ । यसले एकाधिकारवादी नेतृत्व संरचनालाई अन्त्य गर्दै साझा निर्णय प्रणालीलाई सुदृढ बनाउने संकेत दिएको छ । नेपाली राजनीतिको लामो इतिहासलाई हेर्दा, नेतृत्व पदमा एक व्यक्ति वा एक समूहको एकाधिकारले पार्टीहरूमा आन्तरिक असन्तुलन, गुटबन्दी सिर्जना गर्दै आएको छ । अहिले यो प्रगतिशील लोकतान्त्रिक पार्टीमा शक्तिको केन्द्रीकरण हटाएर सामूहिक नेतृत्वको मोडल नेपालको राजनीतिक पार्टीमा प्रयोगकै रूपमा आएको छ । यो मोडल भावि दिनमा अरु पार्टीमा पनि सिक्न लायक हुन्छ कि असफलसिद्ध हुन्छ त्यो आगामी दिनमा स्पष्ट हुनेछ ।
पार्टीको संगठन संरचना पनि परम्परागत ढाँचाबाट अलग बनाइने तयारी छ । १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णयमा सो पार्टी पुगेको छ, तर त्यो समितिमा भागबन्डा वा पूर्वपार्टीगत प्रतिनिधित्वका आधारमा सदस्य चयन नहुने स्पष्ट गरिएको छ । ‘फिल्डमा जान सक्नेहरू’ मात्रै केन्द्रीय समिति सदस्य हुने किराँतीको भनाइले पार्टीको संगठनात्मक चरित्रलाई सक्रिय, जनसरोकारमुखी र काम–केन्द्रित बनाउने संकेत गर्छ । नेपालजस्ता विकासशील मुलुकमा राजनीतिक नेतृत्व भन्दा कार्यकर्ताको प्राथमिकता राजधानी केन्द्रित गतिविधिमा सीमित हुनु, चुनावमा मात्रै सक्रिय देखिनु वा वैचारिकभन्दा पदमा बढी आकर्षित हुनु जस्ता समस्या गहिरो बनेका छन् । नयाँ पार्टीले यी दुव्र्यसना तोडेर फिल्ड–केन्द्रित संगठन निर्माण गर्ने योजना सार्वजनिक गर्नु राजनीतिक संस्कृतिमा सुधार गर्न ठूलो कदम हो । शीर्ष नेताहरू कार्यकारी भूमिकामा नलागे पनि केन्द्रीय समितिमा रहने सहमति पार्टीभित्र अनुभव, निरन्तरता र नेतृत्व संक्रमण सन्तुलित हुने संकेत पनि हो ।
पार्टीको चुनाव चिह्न ‘आँखा’ हुने र पार्टीको झन्डामा पनि आँखा अंकित गर्ने सहमति जुट्दैछ । आँखाले चेतना, जागरण र बदलिँदो समाजप्रतिको संवेदनशीलता प्रतिनिधित्व गर्ने भएकाले नयाँ पार्टीले आफूलाई समाजका असमानता, अन्याय र भ्रष्टाचार विरुद्ध निगरानी गर्ने संरचनाका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ ।
पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘प्रगतिशील समाजवाद’ रहने बताइएको छ । सुदन किराँतीका अनुसार “माक्र्सवाद र पुँजीवादका सकारात्मक तत्वहरू समेटेर लोकतन्त्रसहितको समाजवाद” पार्टीले अंगाल्ने मुख्य वैचारिक दिशा हो । यो नयाँ धार पारम्परिक राज्य–नियन्त्रित समाजवादको पुनरुत्थान होइन, न त पूर्ण रूपमा उदार पुँजीवादी अर्थतन्त्रको निरन्तरता । बरु दुवै विचारधाराका वैज्ञानिक, व्यावहारिक र समयानुकूल पक्ष समेटेर वैकल्पिक समाजवादी मार्ग तयार गर्ने प्रयास हो । विश्व राजनीति र अर्थतन्त्रमा पछिल्लो दुई दशकको परिवर्तनले परम्परागत वादलाई जस्ताको तस्तै लागू गर्ने प्रणाली निष्फल भएको अनेक उदाहरणले देखाइसकेको छ । चाहे त्यो कम्युनिस्ट देशहरूको कडाइपूर्ण राज्य–नियन्त्रित मोडेल होस् वा नवउदारवादी अर्थतन्त्रका नाममा असमानता, अभाव र राजनीतिक विभाजन बढाउने मोडेल ।
ठीक त्यही बीचबाट ‘उदार–लोकतान्त्रिक समाजवाद’ वा ‘प्रगतिशील समाजवाद’ जस्ता वैकल्पिक मोडेल विश्वभरिकै पार्टीहरूले अँगाल्न थालेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको वैचारिक मोडेल पनि यही पृष्ठभूमिबाट विकसित भएको देखिन्छ । जहाँ सामाजिक न्याय, समान अवसर, आर्थिक समावेशीकरण र लोकतान्त्रिक प्रक्रियामा आम नागरिकको सहभागिता मुख्य लक्ष्यका रूपमा उठाइन्छ ।
माओवादी केन्द्रले १० वाम घटकसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन गर्दा ‘माओवाद परित्याग’ गरिएको जनार्दन शर्माको आरोप नयाँ पार्टीमा दोहोरियो कि भन्ने प्रश्न पनि उठेको छ । यसबारे नेता किराँतीले ‘माओवादी’ वा ‘वामपन्थी’ शब्द राख्ने–नराख्ने भन्दा पनि व्यवहारिक रूपमा जनताको आवश्यकताअनुसार नीति निर्माण गर्न सक्ने क्षमता नै महत्वपूर्ण हुने बताउँछन् । उनले पुरानै राज्य–नियन्त्रित समाजवादलाई अस्वीकार गर्दै “विज्ञानसम्मत माक्र्सवादी तत्व र पुँजीवादी सुधारका प्रगतिशील पक्षहरू” समेटेर नयाँ मोडेलतर्फ अघि बढ्ने घोषणा गरे ।
नेता किराँतीको भनाइ अनुसार विगतदेखि नै नेपालका सरकारहरुका नीति तथा कार्यक्रमदेखि बजेटसम्म नै अत्यधिक उदार पुँजीवादी मोडेलमा अडिएको छ । त्यसैले पुँजीवादी अर्थतन्त्रका असफल पक्ष छानेर, सफल पक्षलाई मात्र राख्दै, वैज्ञानिक समाजवादका आवश्यक तत्वहरू समेट्दै, जन–केन्द्रित राजनीतिक संरचना निर्माण गर्ने लक्ष्य प्रगतिशील लोकतान्त्रिक पार्टीले राखेको बताइएको छ । वास्तवमा यही मिश्रित मोडेल नै वर्तमान नेपाली समाजको आवश्यकता हो—जहाँ विकास, स्वतन्त्रता, समानता र समृद्धि एकै साथ अघि बढ्न सकून् ।
यो नवगठित पार्टीको तत्कालको कार्य संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र जनसंगठन विस्तार प्राथमिकतामा रहनेछ ।
समग्रमा, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाली राजनीतिमा वैकल्पिक मार्ग निर्माण गर्ने नयाँ प्रयास हो । जहाँ सामूहिक नेतृत्व, समावेशी संगठन, फिल्ड–केन्द्रित नेतृत्व चयन, कार्यशैली, वैचारिक मिश्रण र आधुनिक प्रगतिशील समाजवादका आधारहरूलाई मूल मन्त्र बनाइएको छ । अब यसले नेपाली जनतामा कति विश्वास दिलाउन सक्छ र कति प्रभावकारी विकल्प बन्न सक्छ भन्ने कुरा यसको व्यवहारिकता, नीतिगत स्पष्टता र जनसक्रियताले निर्धारण गर्नेछ ।
क्याटेगोरी : बिचार, राजनीति


















प्रतिक्रिया