Techie IT
Samayabaddha
मंगलबार, १० चैत्र, २०८२

नेता पदले होइन, भूमिकाले बनाउँछ


हरिबोल गजुरेल

राजनीतिक नेतृत्वमा ज्ञान, इमानदारी र चातुर्य तीन गुण अपरिहार्य हुन्छन् र यी गुण बिना सक्षम नेतृत्व सम्भव छैन ।

नेतृत्व पद होइन, विचार, साहस, पहल र प्रभावबाट स्थापित हुन्छ र पदमा नभएको व्यक्ति पनि नेता हुन सक्छ ।

नेतृत्व केवल पदको अधिकार प्रयोग होइन, समाजलाई नयाँ दिशा दिने क्षमता र कठिन परिस्थितिमा सही पक्षमा उभिने प्रतिबद्धता हो ।

राजनीतिक नेतृत्वमा तीन गुण— ज्ञान, इमानदारी र चातुर्य अपरिहार्य हुन्छन् । यी गुणहरूको अभावमा सबल र सक्षम नेतृत्व अगाडि आउन सक्दैन । त्यसैले यी तीनै गुणले सम्पन्न नेतृत्व विरलै पाइन्छ । माओ जे दुङ्ले चिनियाँ किंवदन्तीका पात्र ‘छुके ल्याङ’ जस्ता व्यक्तित्व व्यवहारतः पाउन कठिन हुने बताएका छन् । यही कारणले कम्युनिष्टहरू सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्छन् ।

राजनीतिमा पद र नेतृत्व एउटै कुरा होइनन् । पद भनेको संस्थागत संरचनाभित्रको औपचारिक जिम्मेवारी हो, तर नेतृत्व भनेको समाज र इतिहासको आवश्यकतासँग जोडिएको वास्तविक भूमिका हो । त्यसैले पदमा बसेको मानिस स्वतः नेता हुँदैन, र पदमा नभएको मानिस नेता हुन सक्दैन भन्ने पनि होइन । अन्ततः नेतृत्व विचार, साहस, पहल र प्रभावबाट स्थापित हुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले पनि यही कुरा पुष्टि गर्छ । विशेषगरी जनविद्रोहको समयमा धेरै नेताहरू पदका कारण होइनÙ आफ्नो भूमिका, प्रतिबद्धता र जनतासँगको सम्बन्धका कारण स्थापित भएका थिए । त्यतिबेला पदभन्दा आन्दोलनको उद्देश्य र विचार नै नेतृत्वको वास्तविक आधार बनेको थियो ।

विश्व राजनीतिक इतिहासमा पनि यस्ता अनेक उदाहरण छन्, जहाँ व्यक्तिहरूले औपचारिक राज्यसत्ता सम्हालेका थिएनन्, तर उनीहरूको वैचारिक र राजनीतिक प्रभाव अत्यन्त गहिरो थियो ।

कतिपयले कहिल्यै सरकारको पद सम्हालेनन्, तर उनका विचारहरूले विश्व कम्युनिष्ट आन्दोलनको बौद्धिक आधार निर्माण गरे । यसले स्पष्ट देखाउँछ– नेतृत्वको वास्तविक स्रोत पद होइन, विचार र भूमिका हो ।

विश्व राजनीतिक इतिहासमा यस्ता अनेक उदाहरण छन्, जहाँ व्यक्तिहरूले औपचारिक राज्यसत्ता सम्हालेका थिएनन्, तर उनीहरूको वैचारिक र राजनीतिक प्रभाव अत्यन्त गहिरो थियो ।

जसरी र जे गरेर पनि पद प्राप्त गर्नु र नछाड्नु नै लक्ष्य हो भन्ने सोंच गलत हो । त्यस्तै, पद र भूमिकाप्रति पूर्ण उदासीन हुनु पनि उचित होइन । स्वस्थ महत्वाकांक्षा सकारात्मक हुन्छ, जसले मानिसलाई ठूलो जिम्मेवारी लिन, जोखिम उठाउन र परिवर्तनका लागि पहल गर्न प्रेरित गर्छ ।

कहिलेकाहीं मानिस पदमा त हुन्छ, तर उसले निभाउनुपर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्दैन ।

यस्तो अवस्था नेतृत्वको संक्रमणकाल हो । यो संकट बाह्य कारणले मात्र होइनÙ बदलिंदो परिस्थितिलाई समयमै नबुझ्दा, वैचारिक स्पष्टता कमजोर हुँदा वा संगठनात्मक पहल कमजोर हुँदा पनि उत्पन्न हुन्छ ।

नेतृत्व भनेको केवल पदको अधिकार प्रयोग गर्ने कुरा होइन । नेतृत्व भनेको समाजलाई नयाँ दिशा दिने क्षमता होÙ अन्याय, विसंगति र वैचारिक विचलनका विरुद्ध आवाज उठाउने साहस हो र कठिन परिस्थितिमा पनि सही पक्षमा उभिने प्रतिबद्धता हो ।

लोभ–लालच, आश–त्रास, अति विश्वास र अति शंका जस्ता प्रवृत्तिबाट मुक्त हुन नसक्ने, तथा ‘विद्रोह गर्नु अधिकार हो’ भन्ने माक्र्सवादी मान्यतालाई आत्मसात् गर्न नसक्ने व्यक्ति साँचो अर्थमा कम्युनिष्ट हुन सक्दैन । यस्ता कमजोरीहरूबाट जोगिन नसक्दा माओवादी आन्दोलन कमजोर बन्दै गएको र नेतृत्वमा पतन देखिएको तथ्य सर्वविदित छ ।

जसरी र जे गरेर पनि पद प्राप्त गर्नु र नछाड्नु नै लक्ष्य हो भन्ने सोच गलत हो । त्यस्तै, पद र भूमिकाप्रति पूर्ण उदासीन हुनु पनि उचित होइन ।

आन्दोलनको जग हल्लिएको अवस्थामा नयाँ शिराबाट पहल लिनु बाँकी रहेका क्रान्तिकारीहरूको दायित्व हो । तर कसैले पनि …पानी माथि ओभानो छुÚ भन्ने दाबी गर्न मिल्दैन । राजनीतिक जीवनमा आत्मसमीक्षा अपरिहार्य छ । आफ्ना अनुभवहरूको मूल्यांकन, कमजोरीहरूको स्वीकारोक्ति र नयाँ परिस्थितिमा नयाँ भूमिका खोज्ने प्रक्रियाबाटै नेतृत्वको पुनर्निर्माण सम्भव हुन्छ ।

आजको सन्दर्भमा स्पष्ट हुनुपर्छ– नेता पदले होइन, भूमिकाले बनाउँछ । समाज, राजनीति र इतिहासले मागेको भूमिका निर्वाह गर्न सकियो भने नेतृत्व स्वतः स्थापित हुन्छ । पद त्यसको परिणाम हुन सक्छ, तर आधार सधैं भूमिका नै हो ।
बारम्बार नेतृत्व गर्ने अवसर पाएर पनि पार्टी र आन्दोलनलाई बचाउन नसक्ने, तर ‘म नभए पृथ्वी घुम्दैन’ भन्ने सोच राखेर नेतृत्वमा लिसो टाँसिए जस्तै टाँसिइरहनु उचित होइन । नेतृत्वमा यस्तो सत्ता–लिप्सा जनविद्रोहपछि देखिनु चिन्ताजनक छ । आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसक्दा यस्तो नियति उत्पन्न भएको हो ।

अन्ततः राजनीति पदको प्रतिस्पर्धा मात्र होइनÙ यो विचार, जिम्मेवारी र इतिहासप्रतिको उत्तरदायित्वको क्षेत्र हो । पद क्षणिक हुन सक्छ, तर भूमिका इतिहासमा दर्ता हुन्छ । नेतृत्व कसैलाई टिको लगाएर दिइने वस्तु होइन । जो मानिसले समयले मागेको भूमिका पूरा गर्न सक्छ, इतिहासले अन्ततः नेतृत्वको मान्यता पनि उसैलाई दिन्छ ।


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट