Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

सिन्धुली–२ मा नेकपाको स्वार्थ र यथार्थ


काठमाडौं । २०८२ फागुन २१ को प्रतिनिधिसभा चुनावमा महेश्वर दाहालले सिन्धुली-२ मा विद्रोही उम्मेद्बारी दिएर नेकपा उमेदवार लेखनाथ दाहाल (राजन) लाई हराउने भूमिका खेले भन्ने अतिरन्जना नेकपाबृत्तमा व्यापक गरिएको छ । मुढामा जति मत पर्‍यो र मुढामा परेको जति मत बदर भयो, त्यो हेर्दा महेश्वरको उम्मेद्बारीको जबर्जस्त प्रभाव सिन्धुली-२ मा परेकै हो ।

तर उम्मेदवार चयन प्रक्रियादेखि मतदानपूर्वको राजनीतिक गतिविधिसम्म भएका तीव्र बहस, विवाद र केन्द्रीकृत हस्तक्षेप अन्ततः कसरी ‘प्रतिष्ठा’को लडाइँमा रूपान्तरित भयो भन्ने सन्दर्भलाई भने मिहिन ढंगले केलाएर मात्र तथ्यको नजिक पुग्न सकिन्छ । विशेषतः नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उमेदवार सिफारिसका लागि बनेको जिल्ला कार्यदलबीच कसरी र किन कुरा मिलेन भन्ने तथ्यलाई सिलसिलामा हेर्नुपर्छ ।

पौष १० गते नेकपाका संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरी सर्कुलर पठाएर एकतामा रहेका सबै घटकका इञ्चार्ज, अध्यक्ष/संयोजक, सचिव तथा त्यो नभए कमसेकम एक घटक एक प्रतिनिधिसहितको कार्यदल बनाएर, पालिकाको सुझाव समेत लिएर उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका थिए ।

यसरी बुद्धिमान माझी वसन्तको संयोजकत्वमा पानीराज बम्जन, विनोद विक, सूर्य पाख्रीन, चित्र लुङ्गेली, भरतकुमार योन्जन, चित्र पुलामी, सुरदबहादुर स्याङ्तान बृहत्, मोदनाथ तिमल्सिना विमल सहितको उमेदवार सिफारिस कार्यदल बनेको थियो ।

जिल्ला कार्यदलको बैठकले सिन्धुली–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, हरिबोल गजुरेल, महेश्वर दाहाल, पानीराज बम्जन लगायतको नाम सिफारिस गरेको थियो । त्यस्तै सिन्धुली–१ बाट लेखनाथ दाहाल (राजन), जानुका तिमल्सिना, डेकेन्द्र सुवेदी लगायतको नाम सिफारिस गरेको थियो ।

तर कार्यदलले गरेको यो एकमत निर्णयलाई लत्याउँदै केन्द्रबाट सिन्धुली-२ मा अनाधिकृत हस्तक्षेप गरियो । माघ ४ गते प्रचण्डले जिल्ला कार्यदलका सदस्यहरू, उम्मेद्वार सिफारिस भएका हरिबोल, महेश्वर, पानीराजलाई पञ्छाएर सिन्धुली-२ मा फेसबुकबाट लाइभ गर्दै राजन दाहाललाई दिएपछि नै सिन्धुली पार्टी र केन्द्रको विवाद उत्कर्षमा पुगेको हो ।

माघ ५ गते बसेको जिल्ला कार्यदलको बैठकले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै निर्णय नसच्याइए सिन्धुली-२ मा विद्रोही उम्मेदवारी दिने माइन्युट गर्‍यो । र, सो निर्णयबारे संयोजक प्रचण्ड र शीर्ष नेतृत्वकै हातमा पुग्ने गरी केन्द्रमा पत्र बुझायो । माइन्युटमा लेखिएको थियो, “नेपाली कम्युनिस्ट पार्टी सिन्धुली जिल्लाको कार्यदलको वैठकको निर्णय र सिफारिस गरिए वमोजिम सिन्धुली जिल्ला संघीय निर्वाचन क्षेत्र नं- २ को हकमा पार्टीको केन्द्रीय कार्यालयले छनौट गरि पठाएको उम्मेदवारको विरूद्धमा एकमतले उम्मेदवारी दर्ता गर्ने निर्णय सर्वसम्मतले पारित गरियो ।”

यही निर्णयकाे आधारमा टेकेर जिल्लाकाे अभिभावक हरिबाेल गजुरेललाई प्रस्तावक बनाएर महेश्वर दाहाललाई उम्मेदवार बनाइएकाे थियाे ।

उम्मेदवारी दर्ताको दिन प्रदेश सांसदहरू गंगानारायण श्रेष्ठ र मात्रिका भट्टराईले राजनसँग छुट्टै वार्ता गरेका थिए । उनले संयोजक प्रचण्डले उम्मेद्बारी दर्ता नगर्न भने आफूले मान्ने संकेत दिएका थिए । त्यतिबेला रूकुममा रहेका प्रचण्डले उम्मेदवारी रोक्न अस्वीकार गरेपछि नै राजनले उम्मेदवारी दर्ता गराएका थिए ।

यसरी जिल्ला कार्यदलको निर्णयलाई प्रचण्डले नै अस्वीकार गरेपछि पार्टीका वरिष्ठ नेता हरिबोल गजुरेल प्रस्तावक र जिल्ला संयोजक पानीराज बम्जन समर्थक रहेर महेश्वरले विद्रोही उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दर्ताको भोलिपल्ट प्रचण्डले हरिबोल गजुरेल, महेश्वर दाहाल, पानीराज बम्जन, गंगानारायण श्रेष्ठ, मात्रिका भट्टराई, राजन दाहाल लगायतलाई आफ्नो निवासमा बोलाए । सो भेटमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल समेत सहभागी थिए ।

त्यहाँ प्रचण्डले राजनको उम्मेदवारीमा सहमत नभए अन्य नेतामाथि कारबाही गर्ने चेतावनी दिए ।

इन्चार्ज वसन्त माझी नेतृवको सिङ्गो जिल्ला पार्टी र सिङ्गो कार्यदलको निर्णय लत्याएर, पार्टीलाई नोक्सान पुग्ने देखीदेखी प्रचण्डले राजनको पक्षमा नै किन यति मरिहत्ते गरे, यसभित्रका स्वार्थहरू खुल्दै जालान्।

फागुन १२ गते प्रचण्ड र माधवकुमार नेपाल हेलिकप्टरमार्फत सिन्धुली सदरमुकाम पुग्दा, त्यहाँको भेलामा प्रचण्डले जसरी राजनलाई ‘अन्तर्राष्ट्रिय स्तरका नेता’का रूपमा प्रस्तुत गरे, यसले लाजलाई पनि लज्जित बनाएको थियो ।

कार्यक्रममा मरिण, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिकाका पार्टी समितिहरूले पार्टीमा मेलमिलाप नभए चुनाव जित्न नसकिने लिखित सुझाव प्रचण्ड र नेपाललाई दिएका थिए । सुझाव दिन खोज्नेलाई बोल्न समेत नदिईएपछि लिखित दिएका थिए ।

जिल्लाको विद्रोह र विद्रोही महेश्वरको पक्षमा सार्वजनिक माहोल देखिएपछि प्रचण्डले “पार्टी जोगाउन आफू नै चुनाव लडेको” भन्दै स्थानीय नेताहरूलाई पद र सुविधाको आश्वासन बाँडे । अनौपचारिक सक्रियता समेत देखाए ।

एउटै पालिकामा पाँचरपाँच जनासम्मलाई प्रमुख, उपप्रमुख वा वडाअध्यक्ष बनाउने आश्वासन दिईएको अहिले खुल्दै छ । एउटा प्रदेश सांसदका लागि तीन जनासम्मलाई आश्वासन दिइएको पनि अहिले खुल्दै छ ।

सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका नेताहरूलाई समेत “सिन्धुली-२ मेरो (प्रचण्डको) प्रतिष्ठाको विषय हो” भन्दै परिचालन गरियो । सिन्धुली-२ को चुनावलाई संस्थागत भन्दा व्यक्तिगत प्रतिष्ठासँग जोडेको देखेर परिचालितहरू समेत छक्क परे ।

सिन्धुली–२ अन्तर्गतका पाँचमध्ये चार पालिकामा पूर्व माओवादीको प्रभाव बलियो छ । सबैतिर प्रारम्भमा विद्रोहीको माहोल देखिए पनि प्रचण्ड स्वयंको आश्वासन र दबाबपछि धेरै नेता, कार्यकर्ताहरू राजनतिर ढल्किए । भ्रष्टाचार र लालफिताशाहीविरुद्ध कडा अभिव्यक्ति दिएका केही नेताहरू समेत विद्रोहबाट पछि हटे । सिन्धुलीमा पार्टीका कार्यकर्ताहरू, एमाले र काँग्रेसका कतिपय नेता तथा कार्यकर्ता, विभिन्न धार्मिक समूह, क्लबहरूमा रकमको खोलो बगाइयो । प्रचण्डकै प्रतिष्ठा मानिएको, हरिबोल गजुरेल र महेश्वर दाहाललाई कमजोर बनाउन प्रचण्डले ठूलै प्रतिष्ठाको विषय बनाएकाले राजन दाहालले जिल्लामा अहिलेसम्ममै सांसद बन्नका लागि सबैभन्दा खर्च गरेको मानिएका ठूला व्यापारी तथा नेपाली काँग्रेसका नेता श्याम घिमिरेलाई समेत धेरै पछाडि छाडेर रेकर्ड ब्रेक गरेको जिल्लामा अहिले मुख्य चर्चाको विषय बनेको छ । जिल्ला कार्यदलले एकमतले राजन दाहाललाई दुई नम्बर क्षेत्रमा उम्मेदवार कायम गरे विद्रोही उठाउने भनेर ओैपचारिक निर्णय गरेका थिए । र, राजन दाहालसँग जिल्ला नेतृत्व सम्वाद गर्ने मुडमा नै थिएनन् ।

प्रभावशाली नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल, वसन्त माझी, दीर्घराज श्रेष्ठ, पानीराज बम्जन, विनोद विक, सभासद जेबी माझीलगायतलाई विद्रोही बनाएर राजन दाहाललाई मात्रै महत्त्व दिनुको प्रचण्ड असलियत बुझिनसक्नु छ । तर, धेरैले प्रचण्ड र उनको परिवारको सिन्धुलीको आर्थिक स्रोतमाथिको आँखा गडाइ हो भन्दै अनुमान गरेका छन् ।

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट