Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

एक हप्ता भित्रमा गभर्नर नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ


लमजुङ, ४ जेठ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताए ।

“समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ” सञ्चारमन्त्री गुरुङले भने, “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”

मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताए । उनले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको समेत प्रष्ट पारे । “सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्” उनले भने, “अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।”

यसअघि नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारलाई स्थायित्व र सवल बनाउन पार्टी बलियो बन्नुपर्ने धारणा राखे । “सरकारलाई बलियो बनाउने कुरा, सवल बनाउने कुरा पार्टीको महत्त्वपूर्ण भूमिका हुन्छ” मन्त्री गुरुङले भने, “सरकारले राम्रो गर्न सक्यो भने पार्टी विस्तारलाई फाइदा हुन्छ, पार्टी बलियो भयो भने सरकारको स्थायित्व हुन्छ ।”


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट