गुल्मीमा सात वटा सहरकारी संस्था खारेज

गुल्मी, ६ जेठ । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले सात वटा सहकारी संस्थाहरूलाई खारेज गरेको छ। गाउँपालिकाले क्षेत्राधिकारभित्र रहेर लामो समयदेखि निष्क्रिय रहेका सात वटा सहकारी संस्थाहरूलाई खारेज गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।
सहकारी संस्थाहरूले लगातार दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहनुका साथै विनियममा उल्लिखित उद्देश्य विपरीत कार्य गरेका सहकारी संस्थाहरूलाई गाउँपालिकाले गत वर्षदेखि नियमन गर्न लागेको हो। रुरु क्षेत्र गाउँपालिकामा दर्ता भएका ३७ वटा सहकारी संस्थामध्ये लामो समयदेखि निष्क्रिय रहेका सात सहकारी संस्थालाई खारेज गरिएको उनले बताए ।
रुरु क्षेत्र गाउँपालिकाको सहकारी ऐन, २०७४ को दफा ८८ उपदफा (१) बमोजिम आवश्यक प्रक्रिया पुरा गरी सहकारी संस्थाहरू विघटनसँगै दर्ता खारेजी गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ मा अवस्थित लाङ्घाली कफी सहकारी संस्था लिमिटेड र ग्वादी अदुवा उत्पादक सहकारी संस्था लिमिटेड खारेजीको प्रक्रियामा रहेका छन्।
त्यस्तै, वडा नम्बर ३ मा अवस्थित थोर्गेली अदुवा उत्पादक सहकारी संस्था लिमिटेड र नवजागृति कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ४ मा अवस्थित लामाखर्क दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ मा अवस्थित कामधेनु अदुवा उत्पादक सहकारी संस्था लिमिटेड र वडा नम्बर ६ मा अवस्थित भागेर भञ्ज्याङ्ग कफी सहकारी संस्था लिमिटेड खारेजीको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए।
खारेजीको प्रक्रियामा रहेका यी सहकारी संस्थासँग कोही कसैको लेनदेन बाँकी रहेको भए आवश्यक प्रमाणसहित समयमा सम्बन्धित सहकारीको कार्यालय वा गाउँपालिकामा निवेदनसहित उपस्थित हुन रुरु क्षेत्र गाउँपालिकाले आग्रह गरेको छ। गाउँपालिकाभित्र सहकारीलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले विभिन्न समयमा सहकारी नियमन सम्बन्धी गतिविधिहरू समेत गरेको थियो।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया