Techie IT
Samayabaddha
बुधबार, ७ जेठ, २०८२

नयाँ गभर्नरको नियुक्तिलाई बजारले पत्याएन !


काठमाडौं । देशको आर्थिक अवस्था अन्योलपूर्ण रहेकै बेला जेठ ६ गते राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्ति अर्थतन्त्रमा स्थायित्व ल्याउने अपेक्षासहित गरिएको थियो । तर, गभर्नर नियुक्तिको भोलिपल्टै अर्थतन्त्रको ऐन भनिएको शेयर बजारमा बुधबारको कारोबार भइरहँदा देखिएको अराजक गतिविधिले गभर्नरको नियमनकारी प्रभावलाई सुरुवाती चरणमै नपत्याएको सन्देश दिन खोजिएको छ ।

लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो । लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको तुलनामा भरिभराउ देखिन्थे । आज सामाजिक सञ्जालदेखि ब्रोकरहाउसमा कारोबार नै हल्ट हुने गरी सर्किट ब्रेक लाग्ने अनुमान पनि चलेका थिए । प्रि–ओपन सेसनमा ३४.७९ अंकले बढेर बजार खुलेको थियो ।

कारोबारको पहिलो प्रहरमा झण्डै साढे तीन प्रतिशतले बढेर कारोबार भएको थियो । त्यति मै सूचक रोकिएन, कारोबार खुलेको पहिलो तीन मिनेटमै सूचक बढेर २७७१.४८ अंकमा उक्लियो । जुन अघिल्लो दिनको तुलनामा ९४.०३ अंकको बृद्धि थियो । मंगलबार सूचक ४९.०९ अंक बढेर २६७७.४५ विन्दुमा बन्द भएको थियो । त्यही बिन्दुबाट बुधवार कारोबार सुरु भएको थियो । बुधवार सूचक अन्तिममा भने ७.९४ अंकले घटेर २६६९.५१ अंकमा बन्द भयो । टुप्पोमा पुगेको अकंसँग बुधवारको क्लोजिङ पोइन्ट घटाउने हो भने बुधवार मात्रै बजार झण्डै एक सय अंकले घटेर बन्द भयो ।

बुधबार सेयर बजारमा देखिएको अस्वाभाविक उतारचढाव, विशेषगरी हाइड्रोपावर समूहमा बजार खुलेसँगै एकाएक वृद्धिपछिको केही घण्टामै गिरावट आएको अवस्था गम्भीर रूपमा विश्लेषणयोग्य छ । विहानको सत्रमा हाइड्रोपावर कम्पनीका सेयरहरूमा उच्च माग देखिए पनि केही घण्टामै ती सेयरहरू विक्री चापमा परेपछि बजार रातो संकेतमा बन्द भएको छ । नेप्से सूचकलाई दिनभरि उहापोहमा रहेर अन्ततः गिरावटमा टुंगिएको छ । यसरी अनुमान गरे भन्दा बिपरित रुपमा बजार चलेपछि आज सामाजिक सञ्जालदेखि ब्रोकर हाउससम्म लगानीकर्ताहरु रुष्ट देखिन्थे ।

बजार विश्लेषकहरूका अनुसार, ठूला लगानीकर्ता वा सशक्त गिरोहले योजनाबद्ध रूपमा सेयर मूल्य उकासेर साना लगानीकर्ताहरूलाई लोभ्याउने र फेरि एकाएक विक्री गरेर बजारलाई गिराउने रणनीति अपनाएको देखिन्छ । यस्तो प्रवृत्ति नियमित रूपमा देखिँदा पनि नियामक निकायहरू मौन रहनु र गभर्नर नियुक्तिको भोलिपल्टै यस्तो गतिविधि दोहोरिनु संयोग मात्र होइन, नियामनप्रतिको उदासीनता र बजारमा जमेका ट्रेडर भनिएका शक्तिशाली गिरोहहरूको बलियो पकडको प्रमाण हो ।

विश्व पौडेलले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको रूपमा पदीय जिम्मेवारी सम्हालेको २४ घण्टा नबित्दै देखिएको बजारको यस्तो चलखेलले उनीप्रति अप्रत्यक्ष रुपमा अस्वीकृति प्रकट गरेको विश्लेषण गर्न सकिन्छ । विश्व पौडेलले पदभार ग्रहण गर्दै गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने बताए पनि बजारमा जमेका खेलाडी भने साना लगानीकर्ताहरुलाई जिल्याउनै केन्द्रित बने ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्ड जस्ता नियामक निकायले यस्ता कृत्रिम उतारचढाव र बजार चलखेलप्रति कुनै प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाउँदै साना लगानीकर्ता त्रसित भएका छन् ।

सामाजिक सञ्जालहरूमा ‘बजार माफियाको खेल मैदान बनेको छ’, ‘नयाँ गभर्नरलाई बजारले अवहेलना गर्‍यो’ जस्ता टिप्पणीहरू खुलेर आएका छन् ।

देशमा बैंकिङ संकट, तरलताको अभाव र कर्जा प्रवाहमा गिरावट भइरहेका बेला राष्ट्र बैंकको स्थिर नेतृत्व अपेक्षित थियो । यदि नियामन र बजार अनुशासन कायम राख्ने स्पष्ट कार्यनीति लिइएन भने सेयर बजारमा व्यापक अविश्वास फैलने सम्भावना झनै प्रवल बनेको छ ।

गभर्नरको नियुक्तिसँगै सुधारको संकेतको रूपमा लिइएको आशा शेयर बजारमा क्षणिक लाभ लिने माफिया शैलीको चलखेलले छायाँमा पारेको छ । नियामक निकायहरू सजग नभएसम्म र ठूला चलखेल गर्ने समूहहरूलाई नियन्त्रणमा ल्याउने स्पष्ट योजना नबनाएसम्म अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय बजारमा पारदर्शिता र स्थायित्वको सम्भावना झनै क्षीण बन्दै जानेछ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट