Techie IT
Samayabaddha
बिहीबार, ८ जेठ, २०८२

गभर्नरको भनाइले बैंकिङ समूहमा उत्साह


काठमाडौं । गभर्नरले पुँजी बजार सुधारका लागि उपर्युक्त नीतिहरु लिइने बताएसँगै बैंकिङ समूहमा सकारात्मक माहौल छाउँदा साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको बृद्धि आएको छ । नवनियुक्त गभर्नरले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने बताएपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बुधबार एक टेलिभिजन अन्तवार्तामा बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने आश्वासन दिएका हुन् ।

यस्तै, सेयर बजार सुधारका लागि पनि उपयुक्त नीतिगत व्यवस्था गरिने उनले सार्वजनिकरुपमै बताएपछि त्यसको सकारात्मक प्रभाव बिहीबारको सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् । सेयर बजारमा ठूलो जनसंख्या आबद्ध भएको र उनीहरु अहिले समस्यामा परेको भन्दै पुँजी बजार सुधारका लागि सक्दो काम गर्ने गभर्नरको भनाइ छ ।

मौद्रिक नीतिको समीक्षा कस्तो आउला ?

राष्ट्रबैंकद्वारा छिट्टै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आउदैछ । यद्यपि, तेस्रो समीक्षामा सामान्यतयः खासै ठूला नीतिगत परिवर्तन गर्ने चलन हुँदैन । तर भर्खरै नयाँ गभर्नर नियुक्त भएकाले तेस्रो त्रैमासको समीक्षामा लगानीकर्ताको चासोको विषय समेटिन्छ कि भनेर आशा गर्ने ठाउँ छ । त्यसो त सेयर बजार यसै पनि लामो समयदेखि साइडवेजमा छ । नेप्सेले माथि जानका लागि उपयुक्त समय कुरिरहेको देखिन्छ । यही बेला सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका हुन् । व्यवहारिकरुपमा हेर्न भने बाँकी छ ।

यसअघि ३२ सयको उच्चतम विन्दुमा पुगेको बजार केन्द्रीय बैंकले नीतिगत व्यवस्थाहरुमार्फत कसेपछि घट्न थालेका थियो । विशेषगरी सेयर कर्जामा १५ करोडको सीमा, बढी जोखिमभार तथा बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबारमा रोकलगायतका कारण बजार प्रभावित भएको जानकारहरुको भनाइ छ । अब नयाँ गभर्नर यी कुराहरुमा लचक नीति लिएमा बजारले नयाँ उचाई दिनेमा दुईमत नभएका बजारका जानकारहरु बताउँछन् ।

केन्द्रीय बैंक पुँजी बजारको प्रत्यक्ष नियामक नभए पनि हाम्रो बजारमा भने सबैभन्दा बढी प्रभाव उसकै देखिएको छ । किनभने मौद्रिक नीतिसहित केन्द्रीय बैंकले जारी गर्ने निर्देशनहरुले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने गर्छ । अहिले पनि एक जना व्यक्तिले १५ करोडभन्दा बढीको सेयर कर्जा लिन नपाउने, बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन कारोबार गर्न नपाउने, सेयर कर्जामा जोखिमभार बढी राख्ने लगायतका नीति अपनाइएका छन् । यसले सेयर बजारलाई बेस्सरी प्रभावित बनाएको देखिन्छ ।

ट्रेडरको भूमिका शंकाको घेरामा

बजारमैत्री नीति, निकामक निकाय सकरात्मक रहनु, बैंकिङ तरलता र न्यून बैंक ब्याजदर नै आगामी दिनहरुमा सेयर बजार सुधारको संकेतका रुपमा लिनुपर्ने हुन्छ । तर, सेयर बजारमा माग र आपूर्तिको नियमले पनि भूमिका खेल्छ । अहिलेको आपूर्ति थेग्नका लागि दैनिक कारोबार रकममा बढोत्तरी हुँदै जानुपर्ने देखिन्छ । बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ । अहिले सानो फाइदा हुने वित्तिकै ट्रेडर हावी हुने गरेका छन् । विभिन्न हल्ला, अफवाहबीच टे«डडहरु हावी हुँदा माहौंल सकारात्मक देखिँदा पनि बुधवार नेप्से घट्न गयो । कतिपय दिनहरुको कारोबार हेर्दा टे«डरको भूमिका समेत शंकाको घेराभन्दा बाहिर छैन । बजार माथि जानै नदिएर आफ्नो प्रोफिट बुक गरिहाल्ने टे«डरको पुरानै रोग हो ।

जसले नयाँ लगानीकर्ताहरुको बजार प्रवेश गर्ने बाटोमा अवरोध कायम गरेको छ । अब बढ्न थाल्यो कि क्या हो भनेर जव नयाँ लगानीकर्ताको प्रवेश हुन्छ अनि ट्रेडर हावी हुने विगतका कारोबारहरुले देखाउँछ ।

विहीबारको सेयर कारोबार

यस दिन नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.४० अंकले बढेर २ हजार ६८८.९१ विन्दुमा पुगेको छ । बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको हो । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्रमा हरियाली छाएको हो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ४५८.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो । बैंकिङ समूह आज सर्वाधिक अर्थात ३.९४ प्रतिशतले बढ्यो । लघुवित्त समूह पनि आज २.६१ प्रतिशत,म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढ्यो । होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.७८ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४१ प्रतिशत, फाइनान्स ०.३०,हाईड्रो १.१०,लगानी ०.२२,उत्पादन तथा प्रशोधन ०.६९, अन्य ०.१८ र व्यापार समूह ०.३६ प्रतिशतले घट्यो । अव सेयरबजारको भविश्य कता ? अब छिट्टै आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि नयाँ बजेट पनि आउँदैछ । यसमा केही सकारात्मक सम्बोधन हुन सक्यो भने नेप्सेले नयाँ रेकर्ड राख्न सक्छ ।

त्यसो त निकै लामो समयसम्म थला परेको बजार उकासिनका लागि केही समय लाग्छ । बजार सुधारका पक्षमा नीतिनियमहरु आउन थाल्यो भने त्यसले आम लगानीकर्ताको मनोबल सकारात्मक बनाउन सक्नेछ । त्यसपछि बजारले गति लिन सक्ने देखिन्छ । अधिक तरलता र सस्तो ब्याजदर कायम भएको अहिलेको अवस्थामा केन्द्रीय बैंक निकै हदसम्म लचिलो हुने धेरैको अनुमान रहेको छ । यसैकारण अब क्रमशः सेयर बजार थप गतिशील बन्दै जाने विश्लेषणहरु ब्रोकर हाउसमा र सामाजिक संजालहरुमा भइरहेका छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट