६ महिनामा सरकारी खर्च करिब ७ खर्ब, पूँजीगत खर्च अझै कमजोर
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल सरकारले करिब ७ खर्ब रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।
यस अवधिमा सरकारी खर्च राजस्व संकलनभन्दा बढी देखिएको छ । समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ मात्रै रहेको छ, जसका कारण खर्च र राजस्वबीच १ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँको अन्तर देखिएको छ ।
कुल खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चले ओगटेको छ । सरकारले ६ महिनामा ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ ।
तर विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च भने अझै न्यून नै रहेको छ । पुस मसान्तसम्म सरकारले ४९ अर्ब ४३ करोड रुपैयाँ मात्रै पूँजीगत खर्च गर्न सकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ ।
राजस्व संकलनतर्फ हेर्दा कर राजस्वबाट ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वबाट ६१ अर्ब २८ करोड रुपैयाँ उठेको छ ।
यसैबीच, २०८२ पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ थियो ।
प्रदेश सरकारहरूको खर्च पनि अपेक्षाअनुसार बढ्न सकेको छैन । सातै प्रदेश सरकारले समीक्षा अवधिमा कुल ३९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् । सोही अवधिमा प्रदेशहरूको कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
प्रदेशहरूको स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान तथा विभाज्य कोषबाट प्राप्त राजस्वको हिस्सा ६९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने प्रदेशहरूले आन्तरिक तथा अन्य स्रोतबाट २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया