Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

अर्थ मन्त्रालयको संशोधित बजेट अनुमान: चालु आवको ८५.९६ प्रतिशत खर्च हुने


काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् ।

अहिले सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । आव अन्तिसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । जुन सुरु विनियोजनको ८५.९६ प्रतिशत बराबर हो ।

यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ ।

विनियोजन भने चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत बराबर भएको छ ।

चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत हुने अनुमान भने यथावत राखिएको छ । अर्थ मन्त्रालयले पुँजीगत खर्च न्यून हुनुमा आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा रहेका जटिलता तथा भदौ २३ र २४ गते भएको आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिलाई मुख्य कारण मानेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले प्रतिवेदनमार्फत स्रोतको सीमितता र आन्तरिक असहज परिस्थितिका बीच पनि वित्तीय अनुशासन कायम राख्न बजेट संशोधन गर्नुपरेको बताएका छन् ।

सरकारले अबका दिनमा अनुत्पादक खर्च कटौती गर्ने, रुग्ण आयोजनालाई स्थगित गर्ने र रणनीतिक महत्त्वका आयोजनामा मात्र स्रोत केन्द्रित गर्ने नीति लिएको खनालले बताए ।

https://drive.google.com/file/d/1KtfULcZ50tAYxLeV44qi1ujXswZeHK3m/view?usp=sharing


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट