Techie IT
Samayabaddha
बुधबार, ६ फागुन, २०८२

तीन वाणिज्य बैंक र तिनका उच्च पदाधिकारी राष्ट्र बैंकको कारबाहीमा


काठमाडौं । तीन वाणिज्य बैंक र तिनका उच्च पदाधिकारी कारबाहीमा परेका छन् । नियम उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंक र ती बैंकका उच्च अधिकारीलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सोमबार सूचना सार्वजनिक गरी चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याएको जनाएको हो । यस्तो कारबाहीमा पर्नेमा एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

एनआइसी एसिया बैंकका अध्यक्ष र सीईओलाई नगद जरिबाना गरिएको छ । यो बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशनहरू बारम्बार उल्लंघन गरेको र लिखित आदेशको समेत पालना नगरेकोले कारबाही गरेको जारी सूचनामा जनाइएको छ ।

सो बैंकले नियमविपरीत वित्तीय विवरण प्रकाशन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जनही दुई लाख रुपैयाँ नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकका सीईओलाई सचेत गराइएको छ । उक्त बैंकको स्थलगत निरीक्षणका क्रममा बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको पाइएको जनाइएको छ ।

साथै, बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानो मिति राखी पुनः सिर्जना गर्न सकिने अवस्था भेटिएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समिति र सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । यो बैंकले विभिन्न चार नियम उल्लंघन गरेको भन्दै सचेत गराएको हो ।

इन्भेष्टमेन्ट मेगा बैंकले कर्जासँग सम्बन्धित कागजातमा ग्राहकको सहीछाप नगराएको, सुरक्षण भन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैकले जनाएको छ । त्यसैगरी एउटै प्रकृतिका कर्जाहरूमा ब्याजदर अन्तर दुई प्रतिशत भन्दा बढी कायम गरेको र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गर्दै त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी पुरानो कर्जा असुलीमा प्रयोग गरेकोले सचेत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यी गल्तीहरूका कारण बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको जनाइएको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट