काठमाडौंबाट पार्किङमा राखेको माइक्रोबस चोरी, धादिङमा फेला

काठमाडौं, २ जेठ । पार्किङमा राखेको अवस्थामा काठमाडौंबाट माइक्रोबस चोरी भएको छ।
काठमाडौँ महानगरपालिका–६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ।
उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको वनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई बिहीबार सार्वजनिक गरेको हो। उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
थापाले गत वैशाख २९ गते बिहान पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ।
क्याटेगोरी : रोचक
प्रतिक्रिया