Techie IT
Samayabaddha
आईतबार, १ असार, २०८२

स्वास्थ्य मन्त्रालय घेराउको तयारीमा चिकित्सक : निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूको आन्दोलन चर्किँदै


काठमाडौं / निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्थाहरू ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको हो।

संघका तर्फबाट डा. तेजसु मल्लले पत्रकार सम्मेलनमा बोल्दै आन्दोलन २८ दिनसम्म शान्तिपूर्ण ढंगमा चलाए पनि सरकारले कुनै चासो नदिएको आरोप लगाए। उनले काठमाडौं उपत्यकाका चिकित्सकहरूलाई माइतीघर मण्डलामा भेला भई मन्त्रालय घेराउ गर्न र अन्य जिल्लाका चिकित्सकहरूलाई स्थानीय प्रशासन कार्यालय घेराउ गर्न आह्वान गरे।

“आन्दोलन व्यक्तिगत स्वार्थका लागि होइन”

डा. मल्लका अनुसार आन्दोलन कुनै व्यक्तिको स्वार्थ होइन, बरु सम्पूर्ण आवासीय चिकित्सकहरूको अधिकार, आत्मसम्मान र भविष्य सुरक्षित गर्न गरिएको हो। उनले निजी मेडिकल कलेज सञ्चालकहरूद्वारा चिकित्सकमाथि गरिएको मानसिक दवाव र आत्मसम्मानमाथिको प्रहारको विरोधमा आवाज उठाउनु परेको स्पष्ट पारे।

आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने तयारी

संघले देशभरका निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ। यससँगै संघले आन्दोलनलाई बाध्यता र अन्तिम विकल्पको रूपमा व्याख्या गर्दै सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति माफी मागेको छ।

सरकार र निजी मेडिकल सञ्चालकमाथि तीव्र आलोचना

संघले एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीहरूलाई चिकित्सक संगठनमाथि कपोकल्पित आरोप लगाएर भ्रम फैलाएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। डा. मल्लले ती पदाधिकारीलाई आरोप पुष्टि गर्न खुला चुनौती समेत दिएका छन्।

अब आन्दोलन वैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका जिल्ला प्रशासन कार्यालयहरू घेराउ गरेर र काठमाडौंमा स्वास्थ्य मन्त्रालय घेरेर सुरु गरिनेछ।

स्वास्थ्य क्षेत्रका सेवाहरू ठप्प हुनसक्ने चेतावनीसँगै यो आन्दोलनले सरकारलाई निर्णायक कदम चाल्न बाध्य पार्ने सम्भावना देखिएको छ। अब सरकारको जवाफ र वार्तातर्फको तत्परता नै यो आन्दोलनको परिणाममा निर्णायक भूमिका खेल्नेछ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट