Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

मुटुको एन्जिओप्लास्टी गरिएका माधवकुमार नेपालको स्वास्थ्यमा सुधार


काठमाडौँ, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आउँदै गएको छ । उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार मुटुको एन्जिओप्लास्टी गरिएको थियो ।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताए । डा. गजुरेलका अनुसार शल्यक्रिया गरेको २४ घण्टापछि नेता नेपाललाई वार्डमा सार्ने तयारी भइरहेको छ ।

उनले नेता नेपालको ७२ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गरिने जानकारी दिए ।

उनले भने, “नेता नेपालको बिहीबार एन्जिओप्लास्टी गरिएको हो । २४ घण्टा सिसियुमा राखेपछि वार्डमा सार्ने तयारी भइरहेको छ । अब शल्यक्रिया गरेको ७२ घण्टा सम्म चिकित्सकको निगारनीमा राखेर उपचार गरिने छ ।”

नेपालको मुटुको एक नसा साँधुरो भएकाले नियमित जाँच गरेर योजनाबद्ध रूपमा एन्जिओप्लास्टी गरिएको उनको भनाइ छ ।

उनी भन्छन्, “नेपालको मुटुको नसामा पहिल्यैदेखि समस्या थियो । योजनाबद्ध रूपमा नै उहाँको एन्जिओप्लास्टी गरिएको हो ।”

मुटुको रक्त नलीमा भएको अवरोध हटाउने प्रक्रियालाई एन्जियोप्लास्टी भनिन्छ । मुटुको रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो भई रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई समाधान गर्न एन्जियोप्लास्टी गरिन्छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट