Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण


काठमाडौँ, ४ जेठ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्गौल र कलेजो प्रत्यारोपण गरिएको छ ।

मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षिय पुरुषको एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण भएको हो । मिर्गौला र कलेजो दुवै फेल भएका व्यक्तिमा एकै पटक दुईवटै अङ्गको प्रत्यारोपण गरिएको पहिलो पटक हो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यसअघि कलेजोको प्रत्यारोपण गर्नका लागि भारतबाट विज्ञको सहयोग लिने गरेको भए पनि यो पटक नेपालीको टोलीले मात्र कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरिएको बताए ।

दुवै अङ्ग एकै पटक, एउटै व्यक्तिमा प्रत्यारोपण गरेको पहिलो पटक हो भन्दै डा.( श्रेष्ठले विरामी डिस्चार्ज भएपछि विस्तृत रुपमा जानकारी गराइने बताए। डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका डोनर भने काठमाडौँ मेडिकल कलेजबाट ल्याइएको जानकारी दिए ।

मस्तिष्क मृत्यु भएको अंगबाट एकै पटक दुई वटा अङ्गको प्रत्यारोपण गरेर नेपालमा पहिलो पटक सफल भएको भन्दै उनले ब्रेनडेथबाट कलेजो प्रत्यारोपण भएको यो चौथो पटक भएको बताइ । यस्तै, मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति १२ जना पुगेका छन् ।

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा धादिङ जिल्ला निवासी १८ वर्षिय युवकको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका युवालाई उपचारका क्रममा केएमसी ल्याइएको थियो ।

केएमसीमा परीक्षणपछि मस्तिष्क मृत्यु भएको पुष्टि भएको थियो । उनका बुबा र दाजुको सहमतिमा अङ्गदान प्रक्रिया गरिएको हो । केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । १८ वर्षिय युवाका अङ्गहरू ५४ वर्षिय व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।


क्याटेगोरी : रोचक, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट