Techie IT
Samayabaddha
बिहीबार, २२ माघ, २०८२

देशभर ३ लाख बालिकालाई एचपीभी खोप दिइँदै, क–कसले पाउँछन् ?


काठमाडौं । सरकारले देशभरका करिब ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिने भएको छ। आगामी आइतबारदेखि खोप कार्यक्रम सुरु हुने परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप कार्यक्रम कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष उमेर पुगेका बालिकालाई लक्षित गरिएको छ। विद्यालय जाने बालिकालाई विद्यालयमै र विद्यालय नजाने बालिकालाई नजिकको स्वास्थ्य संस्थाबाट खोप दिइनेछ।

सरकारले एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ। गत वर्ष अभियानका रूपमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी करिब १६ लाखलाई खोप दिइएको थियो, जसमा ९४ प्रतिशतले खोप लगाएका थिए।

नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर एक रहेको चिकित्सकहरू बताउँछन्। यो क्यान्सर मुख्यतः ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणका कारण हुने गर्छ। भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले जोखिम उच्च रहने गर्दछ।

एचपीभीका २०० भन्दा बढी प्रजाति रहेकामा करिब १२ प्रजातिले क्यान्सर गराउने क्षमता राख्छन्। तीमध्ये १६ र १८ प्रजातिका भाइरसबाट करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने चिकित्सकहरूको भनाइ छ।

नेपालमा हरेक वर्ष करिब २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ।

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र नभई गुदद्वार, घाँटी तथा जननेन्द्रियसम्बन्धी क्यान्सरबाट समेत बचाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट