बेलायतमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिए

बेलायतको राजधानी लन्डनमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिएका छन् । युक्रेन र रुसबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले लन्डनमा हुने वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी नहुने बीबीसीले जनाएको छ ।
बुधवारको बैठक बेलायत, फ्रान्स, जर्मनी, युक्रेन र अमेरिकाका वरिष्ठ अधिकारीहरूबीच हुनेछ भने बेलायती विदेश सचिव डेभिड ल्यामीले आफ्ना युक्रेनी समकक्षीसँग द्विपक्षीय बैठक आयोजना गर्नेछन् । अब वार्तामा अमेरिकाको प्रतिनिधित्व युक्रेनका लागि राजदूत जनरल किथ केलगले गर्नेछन् ।
रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरूको गति तीव्र हुँदै जाँदा अमेरिकी विदेशमन्त्रीले यस हप्ता रुसको राजधानी मस्कोमा हुने वार्तामा ध्यान केन्द्रित गर्ने खबरमा उल्लेख छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने प्रस्ताव गरेका खबरमा उल्लेख छ । यद्दपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कब्जा गरिएको क्रिमियालाई रुसी क्षेत्रको रूपमा मान्यता दिने कुरा अस्वीकार गरेका छन् ।
यस हप्ताको सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिएका थिए ।
यसैबीच युक्रेनमा कामदारहरू बोक्ने बसमा रुसी ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया