नान्जिङ नरसंहार ः इतिहासको अमिट घाउ, स्मृतिको राष्ट्रिय संकल्प
नान्जिङ । सन् १९३७ को डिसेम्बरमा जापानी सेनाले तत्कालीन चिनियाँ राजधानी नान्जिङ कब्जा गरेपछि मानव इतिहासकै एउटा क्रूर घटना घट्यो । करिब छ हप्तासम्म चलेको हिंसामा तीन लाखभन्दा बढी निर्दाेष नागरिक र युद्धबन्दीको हत्या गरिएको चिनियाँ पक्षको अभिलेखमा उल्लेख छ । योजनाबद्ध हत्या, सामूहिक बलात्कार, आगजनी र लुटपाटले नान्जिङलाई मृत्यु र भयको प्रतीक बनायो । यो घटनालाई आज नान्जिङ नरसंहारका रूपमा स्मरण गरिन्छ ।
नान्जिङ नरसंहार केवल एक सैन्य आक्रमण थिएन, यो मानवता, सभ्यता र अन्तर्राष्ट्रिय नैतिकतामाथिको गम्भीर आघात थियो । दशकौँसम्म पीडित परिवार र जीवित साक्षीहरूले मौन पीडामा जीवन बिताए । इतिहासलाई संस्थागत रूपमा स्मरण गर्ने र भावी पुस्तालाई सत्यसँग परिचित गराउने उद्देश्यले चीनले सन् २०१४ देखि प्रत्येक वर्ष डिसेम्बर १३ लाई ‘नान्जिङ नरसंहारका पीडितहरूको राष्ट्रिय स्मृति दिवस’का रूपमा मनाउन थालेको हो । यस वर्ष उक्त स्मृति दिवसको बाह्रौँ संस्करण मनाइँदैछ ।
स्मारकमा जीवित इतिहासको उपस्थिति
बाह्रौँ राष्ट्रिय स्मृति दिवसको पूर्वसन्ध्यामा पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित नान्जिङ नरसंहार स्मारकमा पीडितका परिवार, नागरिक र नरसंहारको साक्षीहरू भेला भए । त्यही क्रममा ९६ वर्षीया नान्जिङ नरसंहारकी एक जीवित साक्षी सिया शुचिन आफ्नी नातिनी सिया युआनको सहारामा ‘विलाप पर्खाल’सम्म पुगिन् । पर्खालमा कुँदिएका आफ्ना परिवारका सदस्यहरूको नामतर्फ हेर्दै उनले मौन श्रद्धाञ्जली अर्पण गरिन् ।
“८८ वर्ष, ८८ वर्ष’ भन्दै उनी बारम्बार गुनगुनाइरहेकी थिइन् । नातिनी सिया युआनका अनुसार, उनकी हजुरआमाले आफ्ना दिवङ्गत परिवारजनलाई भेट्न आएको अनुभूति व्यक्त गरिरहेकी थिइन् । उक्त दृश्यले नरसंहारको पीडा अझै समयसँगै मेटिएको छैन भन्ने यथार्थलाई उजागर ग¥यो ।
राष्ट्रिय स्मृति दिवस र राष्ट्रपति सी जिनपिङको भूमिका
सिया शुचिन सन् २०१४ मा आयोजित पहिलो राष्ट्रिय स्मृति दिवसमा पनि सहभागी भएकी थिइन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वयं उनको साथमा मञ्चमा उभिएर नान्जिङ नरसंहारका पीडितहरूको सम्मानमा ‘डिङ’—राज्य शक्ति र समृद्धिको प्रतीक मानिने प्राचीन कांस्य भाँडो—अनावरण गरेका थिए ।
समारोहपश्चात राष्ट्रपति सी स्मारक संग्रहालयको अवलोकनमा निस्किए । सीमित समय तय गरिएको भए पनि उनले जीवित साक्षी र पीडितका प्रतिनिधिहरूसँग लामो समय बिताए । उनले २० जना प्रतिनिधिसँग एक–एक गरी हात मिलाउँदै उनीहरूका अनुभव र अवस्थाबारे चासो व्यक्त गरे । राष्ट्रपति सीको निर्धारित ४५ मिनेटको भ्रमण ७२ मिनेटसम्म लम्बिएको थियो ।
त्यस अवसरमा राष्ट्रपति सीले भनेका थिए, “अहिले नान्जिङ नरसंहारका जीवित साक्षीहरू सय जनाभन्दा कम मात्र बाँकी छन् । तपाईंहरूले देख्नुभएको यो पीडादायी इतिहास कहिल्यै बिर्सनु हुँदैन ।”
इतिहास स्मरणको राजनीतिक र नैतिक सन्देश
सन् २०१७ मा राष्ट्रपति सी पुनः नान्जिङ पुगे । नरसंहारसम्बन्धी प्रदर्शनी अवलोकन गर्दै उनले गहिरो रुचिसहित विस्तृत प्रश्नहरू सोधे । जीवित साक्षीहरूको तस्बिर प्रदर्शनीमा दुई तस्बिरको बत्ती निभिसकेको देखेपछि उनले बाँकी साक्षीहरूको अवस्थाबारे चिन्ता व्यक्त गरे । त्यस अवसरमा उनले सिया शुचिनसँग भेट गर्दै स्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।
“इतिहास बिर्सनु भनेको विश्वासघात हो,” राष्ट्रपति सीले भनेका छन् । “नान्जिङ नरसंहारलाई अस्वीकार गर्ने वा इन्कार गर्न खोज्नेहरूलाई इतिहासले, तीन लाख निर्दाेष आत्माहरूले, चिनियाँ जनताले र शान्ति तथा न्यायप्रेमी विश्व समुदायले कहिल्यै माफ गर्ने छैन ।”
चीनका लागि नान्जिङ नरसंहारको स्मरण केवल विगतको पीडालाई सम्झने कर्मकाण्ड मात्र होइन, शान्ति, न्याय र मानवताको संरक्षणका लागि राष्ट्रिय प्रतिज्ञा मानिन्छ । स्मृति दिवसका अवसरमा प्रदर्शित १.६५ मिटर अग्लो र २,०१४ किलोग्राम तौलको ‘डिङ’मा कुँदिएका शब्दहरूले यही भाव अभिव्यक्त गर्छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय



















प्रतिक्रिया