नेपालमा अमेरिकी कदमको भत्र्सना, भेनेजुएलाप्रति विभिन्न दलको ऐक्यबद्धता
काठमाडौं । अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण र राष्ट्रपति मधुरो र उनकी श्रीमतीको अपहरणको विश्वस्तरबाट विरोधहरु भइरहेको छ । यो घटनाले नेपालमा पनि तरङ्ग सिर्जना गरेको छ । यद्यपि अहिलेसम्म सरकारले र यहाँ ठूला भनिएका दलहरुले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन भएको बताएका छन् । डा. भट्टराइले “सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले अमेरिकी कदमको कडा शब्दमा विरोध र भत्र्सना गर्नुपर्ने” धारणा व्यक्त गरेका छन् । उनले ‘जसको लाठी उसको भैंसी’ प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्ने बताए ।
नेपाल सरकारको तर्फबाट औपचारिक धारणा बाहिर आएको छैन । त्यस्तै ठूलो दलहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पनि कुनै अफिसियल धारणा आएको देखिदैन । यद्यपि विघटित संसदको दोस्रो ठूलो दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुनमाथि प्रश्न उठाएको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, कुनै पनि सार्वभौम राष्ट्रका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्काे देशको आदेशमा सैन्य हस्तक्षेप गरी नियन्त्रणमा लिनु संयुक्त राष्ट्रसंघको मूल भावना र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन् ।
उनका अनुसार यस्तो कदमले संयुक्त राष्ट्रसंघजस्ता विश्व संस्थाहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको छ । ‘सैन्य बल प्रयोग गरेर जननिर्वाचित नेतृत्वमाथि कारबाही गर्ने अभ्यास आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ पोखरेलको टिप्पणी छ ।
पोखरेलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने घटनाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको भन्दै, यस विषयमा संयुक्त राज्य अमेरिकाभित्रै जिम्मेवार र गहिरो बहस आवश्यक रहेको धारणा राखेका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ्गले भेनेजुएला माथिको अमेरिकी सैन्य आक्रमणको विरोध गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गुरुङ्गले “अमेरिकी सेनाले सार्वभौम अधिकार सम्पन्न तथा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र भेनेजुयलाको राष्ट्रपतिलाई परिवारसहित अपहरण गरी वेपत्ता पारिएको घटना संयुक्त राष्ट्र संघको वडापत्र, पन्चशिलको सिद्वान्त, अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको खुलेआम उलंघन” भएको बताएका छन् ।
उनले भनेका छन् – यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेप र आक्रमणको घोर भत्र्सना गर्दछु । साथै भेनेजुएला माथिको सैन्य हस्तक्षेप र आक्रमण अविलम्व बन्द गर्न, अपहरित राष्ट्रपतिको सकुसल रिहाई गर्न र भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न जोड दिंदै यस समस्यालाई समाधान गर्नका लागि संयुक्त राष्ट्र संघबाट अविलम्व पहल गरियोस् भनि संबद्व पक्षहरुको ध्यानाकर्षण गर्न चाहन्छु ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको ट्रम्प प्रशासनले गरेको कदमको भत्र्सना गरेको छ । पार्टी अध्यक्ष ओजस्वी भट्टराईद्वारा जारी विज्ञप्तिमा अमेरिकाको कदम अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकारविरुद्ध भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा बाहिरी दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने भेनेजुएलाका जनताको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । साथै उक्त कदमविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पनि भेनेजुएलामाथि भएको आक्रमणविरुद्ध प्रेस व्यक्तव्य जारी गरेको छ । पार्टीका महासचिव विप्लव ‘सी’को हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा अमेरिकाले लागूपदार्थ ओसारपसारको आरोप लगाउँदै भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको बताएको छ ।
अमेरिकाको उक्त आक्रमणले सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता र मानवअधिकारको उल्लङगन गरेको भन्दै तत्काल यस्ता आक्रमण रोक्न पार्टीले माग गरेको छ । विभिन्न दलसहित केहि राजनीतिक व्यक्तिहरुले समेत भेनेजुएलाप्रति भएको आक्रमणको भत्र्सना गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय



















प्रतिक्रिया