महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, अवस्था गम्भीर
काठमाडौं । भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो।
बारामती विमानस्थल नजिकै भएको यस दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर र भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ । विमान जलेको टुक्रा–टुक्रा छरिएको देखिन्छ ।
दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा र उद्धार टोली खटिएका छन् । स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली घटनास्थलतर्फ परिचालित गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय



















प्रतिक्रिया