गाजामा इजरायली हवाई आक्रमण, ३२ जनाको मृत्यु
काठमाडौं । गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले उक्त जानकारी दिएको हो।
हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार गरिएको पछिल्लो आक्रमणमा मारिनेहरूमध्ये महिला र बालबालिका पनि रहेका छन् । प्यालेस्टिनी पक्षले यसलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरणपछि भएको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ।
इजरायली सेनाले भने हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लंघन भएको आरोप लगाउँदै त्यसको प्रत्युत्तरस्वरूप विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ । इसराइल र हमास दुवैले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।
इसराइल–हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इसराइलमा गरेको आक्रमणपछि सुरु भएको हो । उक्त आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इसराइलले सञ्चालन गरेको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । मन्त्रालयका अनुसार १० अक्टोबर २०२५ मा लागू भएको संघर्षविरामपछि मात्रै कम्तीमा ५०९ प्यालेस्टिनी र चार इजरायली सैनिकको मृत्यु भएको छ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय

















प्रतिक्रिया