इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु
काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट १०८ जनाको मृत्यु भएको छ । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको जनाइएको छ ।
राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् ।
इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर ९आईआरजीसी० को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।
होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए । जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।
बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ ।
यो विद्यालयको त्रासदी अमेरिका र इजरायलले शनिबारभर इरानका विभिन्न सहरमा लगातार हवाई आक्रमण गरिरहेका बेला भएको हो ।
सोही आक्रमणमा परि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको पुष्टि भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया